दर्ता नभएको ‘सहिद स्मृति प्रतिष्ठानको नाममा उपभोक्ता समिति,कर्णाली स्पोट क्लबको जग्गामा भवन निर्माण


जुम्ला : जुम्लामा दर्ता प्रक्रिया नै नगरी स्थापना गरिएको ’सहिद स्मृति प्रतिष्ठान’को नाममा उपभोक्ता समिति गठन गरी कर्णाली स्पोट क्लबको स्वामित्वमा रहेको जग्गामा भवन निर्माण गरिएको तथ्य सार्वजनिक भएको छ।क्लबको स्वामित्वमा रहेको कित्ता नम्बर २४५,क्षेत्रफल००१३० मा भवन निर्माणको प्रक्रिया सुरु गरी हालसम्म ३० लाख रुपैयाँ बजेट भुक्तानी समेत गरिएको खुलेको छ ।

उक्त बजेट संघीय सरकारले सघन शहरी तथा भवन निमार्ण आयोजना कार्यालय जुम्लामा सहिद स्मृति प्रतिष्ठानका नाममा विनियोजन गरी पठाएको थियो । सहिद स्मृती प्रतिष्ठान भवन निर्माण उपभोक्ता समिति,जुम्ला मार्फत उत्त काम भएको हो ।यो बजेट प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङको पहलमा प्राप्त भएको ६० लाख रुपैयाँमध्ये बाट आएको हो। बजेट सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय, जुम्लामार्फत ल्याइएको हो ।

सो कार्यालयले सुरुवातमा सहिद स्मृति प्रतिष्ठानको नाममा जग्गा नहुँदा परियोजना अघि बढ्न नसक्ने स्पष्ट पारेको थियो। नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक नवराज न्यौपानेले पनि कार्यालयको भनाइ जायज भएको भन्दै योजना रोकेका थिए। उनले भने, “हामीले जग्गा पाएमा केन्द्रमा दर्ता भएको सहिद स्मृति प्रतिष्ठानसँग सिफारिस मागी नामसारी गर्ने सोच बनाएका थियौं, तर सकिएन। अहिले भने कर्णाली स्पोट्र्स क्लबको नाममा रहेको जग्गामा भवन बनेको भन्ने थाहा पाएको छु।उनले प्रश्न गर्दै भने, “नियम सबैका लागि एउटै हुनुपर्ने होइन र? हामीले कसैको जग्गा माग्दा अप्ठ्यारो देखाउने, अर्कोतिर भने फरक व्यक्तिको जग्गा देखाएर सहजै भुक्तानी दिने?यस्तो पनि हुन्छ?”उनका अनुसार सहिद स्मृति प्रतिष्ठानको नाममा उपभोक्ता समिति गठन गरि ३० लाख रुपैयाँको भुक्तानी गरिएको बिल देखिएको छ।


यता चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष बृर्ष बहादुर कार्कीका अनुसार वडा कार्यालयले सहिद स्मृति भवन निर्माणका लागि आएको बजेट कर्णाली खेलकुद क्लबको जग्गामा खर्च गर्नुपर्ने भएकोले सहमतिको पत्र पठाएको हो। उनले भने,“सो बजेट उक्त कार्यालयमा बजेट फिर्ता जाने अवस्थामा रहेकोले वडाले सिफासिर लेखिएको खण्डमा कर्णाली खेलकुद क्लवलाई दिन मिल्छ भनेर धावक हरिबहादुर रोकाया आए पछि सम्झौताका लागि पत्र लेखिएको बताए ।उनले सो रकम कहाँ दिने भन्ने जिम्मेवारी सघन शहरी विकास तथा आयोजना कार्यालयकै हो। उनका अनुसार वडाका स्थानीयवासीले विकास निर्माणका लागि सहमति मागे पछि पत्र लेखिएको हो ।


त्यस्तै यही विषयमा बुझ्दा सघन शहरी तथा भवन निर्माण आयोजना, जुम्लाका सब–इन्जिनियर एवं सूचना अधिकारी चन्द्रबहादुर खड्काले वडा कार्यालयको सिफारिसमा कर्णाली स्पोट क्लबको जग्गामा सहिद स्मृति भवन निर्माण गरिएको पुष्टि गरे ।तर, दर्ता नभएको संस्थाको नाममा उपभोक्ता समिति बनाई सार्वजनिक बजेट सञ्चालन गरी निजी क्लबको जग्गामा भवन निर्माण गरिएको विषयले गम्भीर कानुनी तथा नैतिक प्रश्न उठाएको छ। यसरी कानुनविपरीत गरिएका गतिविधिहरू सार्वजनिक लेखा,सार्वजनिक जग्गा संरक्षण र बजेटको पारदर्शिता सम्बन्धी मापदण्डमा प्रश्नचिन्ह खडा गरिरहेका छन । सो योजना ६० लाखको रहेको थियो। सहिद प्रतिष्ठान भवन निमार्ण उपभोत्ता समिति जुम्लाको नामा ३० लाख भुत्तानी गएको छ । उक्त भवन अहिले पनी निमार्ण भएको भइरेको छ ।

आरोप–प्रत्यारोप
सहिद स्मृती प्रतिष्ठान भवन निर्माण उपभोक्ता समिति, जुम्लाका अध्यक्ष हरि बहादुर रोकाया (धावक) ले आफू उपभोक्ता समितिको अध्यक्ष बनेको पुष्टि गरेका छन्। उनले भने, “मलाई अध्यक्ष बस भन्नु भएको थियो, त्यसैले बसेको हुँ। तर बजेटबारे मलाई कुनै जानकारी छैन।“
कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले भवन निर्माणको काम सबैको सहमतिमा गरिएको बताए। उनले भने, “हामीले खासमा यस्तो काम गर्नै खोजेका थिएनौं, सबैको सहमतिमा अघि बढाइएको हो। अहिले भने यसलाई अनावश्यक रूपमा ’इगो’ को विषय बनाइएको छ।

शाहीले माओवादी केन्द्र चन्दननाथ नगर कमिटीका अध्यक्ष सुरेन्द्र बहादुर महतले व्यक्तिगत रूपमा ’इगो’ राखेर समस्या सिर्जना गरेको आरोप लगाए। उनले भने, “सुरुमा सांसद लामा तामाङ लगायत माओवादी नेताहरूको सहमतिमा सहिद स्मृति प्रतिष्ठान भवन निर्माणको बजेट कर्णाली खेलकुद क्लबलाई दिएको हो। सबैले भनेका थिए  बजेट फिर्ता पठाउनु भन्दा काम गर। त्यसैले काम सुरु ग¥यौं।“तर अहिले आएर माओवादी नगर कमिटीका अध्यक्ष सुरेन्द्र बहादुर महत र सघन शहरी विकास तथा भवन निर्माण आयोजना, जुम्लाका सब–इन्जिनियर एवं सूचना अधिकारी चन्द्रबहादुर खड्काको व्यक्तिगत रिसिबीका कारण समस्या उत्पन्न भएको उनले बताए। शाहीका अनुसार, माओवादी नेताहरूको सहमतिमा क्लबले काम सुरु गरे पनि हाल सम्म जम्मा ३० लाख मात्रै भुत्तानी भएको र बाँकी काम क्लवको पैसाले अहिले पनी जारी रहेको बताए । संघिय सरकारले आर्थिक वर्ष २०८१ । ८२ को ६० लाख बजेट सघन शहरी तथा भवन निमार्ण आयोजना कार्यालयमा पठाएको थियो ।