पुरुष भलिबलः पुलिस क्वार्टरफाइनलमा, एपीएफ र आर्मीको पनि जित

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुदको पुरुष भलिबलमा लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालास्थित भलिबल कभर्डहलमा भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

पुलिसले लुम्बिनीलाई २५–१२, २५–८ र २५–२१ को सोझो सेटमा पराजित गरेको हो । यो जितसँगै पुलिस समूह ‘ए’ बाट क्वार्टरफाइनलमा पुग्ने पहिलो टिम बनेको हो । यसअघि पुलिसले कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।

त्यस्तै, शनिबार नै भएको अर्को खेलमा समूह ‘बी’ मा रहेको त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई सोझो सेटमा हराएको छ । आर्मीले प्रदेश १ लाई २५–१२, २५–१९ र २५–२३ को सेटमा हराएको हो । आजै भएको अर्को खेलमा समूह ‘सी’ को एपीएफ क्लबले एनआरएनएलाई सोझो सेटमै हराएको छ । एपीएफले २५–१९, २५–१५ र २५–१३ को सोझो सेटमा हराएको हो ।

त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा विभागीय टिम आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेको छ । आर्मीले २५–१२, २५–१३ र २५–१२ को सेटमा कर्णालीलाई पराजित गरेको हो । त्यस्तै, आजै भएको महिला तर्फको भलिबलमा प्रदेश १ ले मधेस प्रदेशलाई सोझो सेटमा हराएको छ । प्रदेश १ ले २५–१३, २५–२२ र २५–१५ को सेटमा हराएको हो ।

सम्बन्धित समाचार