मुगुका अक्कल बोहोरा ‘नेपाल खेल रत्न साहसिक सम्मान २०८३ बाट सम्मानित


मुगु: सुप्रसिद्ध अन्तर्राष्ट्रिय धावक, समाजसेवी तथा मुगु जिल्लाबाट सगरमाथा आरोहण गर्ने पहिलो आरोही अक्कल बोहोरा ‘नेपाल खेल रत्न साहसिक सम्मान–२०८३’ बाट सम्मानित हुनुभएको छ।

प्रयास मञ्च नेपाल, काठमाडौंले आयोजना गरेको विशेष समारोहबीच बोहोरालाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यव्यस्तताका कारण कार्यक्रममा स्वयं उपस्थित हुन नसकेका बोहोराको तर्फबाट उहाँकी सासू आमाले सम्मान ग्रहण गर्नुभएको थियो।

सम्मान प्राप्त गरेपछि खुसी व्यक्त गर्दै बोहोराले निरन्तरको मेहनत र समाजप्रतिको समर्पणको कदर भएकोमा आफू अत्यन्त भावुक र खुसी भएको बताउनुभयो।

“यति ठूलो सम्मान पाउँछु भनेर मैले कहिल्यै सोचेको पनि थिइनँ। निरन्तरको मेहनत र समाजप्रतिको समर्पणको कदर हुँदा मन अत्यन्तै भावुक र खुसी भएको छ। यो सम्मान मेरो मात्र नभई मेरो परिवार, मुगुवासी तथा सम्पूर्ण कर्णालीवासीको सम्मान हो,” उहाँले भन्नुभयो।

बोहोराले आफूलाई निरन्तर माया, हौसला र सहयोग प्रदान गर्ने परिवार, मुगु तथा कर्णालीवासीका साथै स्पेनको कोस्टा ब्लांकामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले सांगीतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्व बुद्धवीर लामा लगायत सम्मान आयोजक समितिप्रति समेत आभार प्रकट गर्नुभएको छ।

मुगुमा जन्मिनुभएका बोहोराले सशस्त्र प्रहरी बलमा रहेर देशको सेवा गर्नुका साथै एथलेटिक्स तथा म्याराथन दौडमार्फत नेपालको गौरव बढाउनुभएको छ। उहाँ मुगुबाट सगरमाथा सफल आरोहण गर्ने पहिलो मुगाली आरोहीसमेत हुनुहुन्छ।

हाल स्पेनमा ‘रारा’ नामक होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका बोहोराले ‘अक्कल कोपिला फाउन्डेसन’मार्फत मुगुमा विभिन्न सामाजिक तथा परोपकारी कार्य गर्दै आउनुभएको छ। फाउन्डेसनमार्फत धर्मशाला निर्माण, मन्दिर जाने बाटो तथा सिँढी निर्माण, घाट निर्माणलगायतका कामसँगै प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई राहत वितरण गर्दै आउनुभएको छ।

पछिल्लो समय बोहोराले मुगु जिल्लाको शैक्षिक अवस्था सुधार गर्ने अभियानलाई समेत प्राथमिकता दिनुभएको छ। भौगोलिक विकटता, कमजोर सडक सञ्जाल तथा शैक्षिक क्षेत्रमा देखिएका विभिन्न चुनौतीका बीच जिल्लाभरिका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्टेशनरी तथा खेलकुद सामग्री उपलब्ध गराउँदै आउनुभएको छ।

खेलकुद, सामाजिक सेवा, पर्वतारोहण तथा शिक्षा क्षेत्रमा बोहोराले गर्दै आएको योगदानले मुगु तथा समग्र कर्णालीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सहयोग पुगेको छ।

सम्बन्धित समाचार