मनोकांक्षा पूरा हुने विश्वास गरिएको गुरा देउताको नवमी मेला सुरु(फोटोफिचर)
जुम्ला:मुगुको सोरु गाउँपालिका ३ भिई गाउँमा रहेको गुरा देउताको धार्मिक तथा सांस्कृतिक नवमी मेला आइतबारदेखि सुरु भएको छ। परापूर्वकालदेखि भदौ वा असोजमा मनाउँदै आएको गुरा देउताको नवमी मेला यस वर्ष असोज ४ र ५ गतेसम्म सञ्चालन हुने भएको हो।
साबिकको भिई गाविस तथा हालको सोरु गाउँपालिका ३ मा पर्ने भिई बस्तीमा आठ गाउँको साझा नवमी मेला लाग्ने गरेको छ। मेलालाई लक्षित गर्दै स्थानीयले काठ र माटोबाट निर्माण गरिएका घरहरू रातो तथा सेतो कमेरो माटोले लिपपोत गरी सरसफाइ गरेर चिटिक्क पार्ने गरेका छन्। मेला हेर्न तथा गुरा देउताको दर्शन गर्न आइतबार बिहानैदेखि विभिन्न गाउँ तथा बस्तीबाट भक्तजन र पाहुनाहरू भिई गाउँमा पुग्न थालेका छन्।
गुरा देउताको दर्शन गरी वर मागेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण मुगुसहित हुम्ला, जुम्ला, बाजुरा र अछामबाट समेत भक्तजन आउने गरेका छन्। भक्तजनसँगै आसपासका गाउँबाट समइजु, कालिका मालिका, कालेगुरु लगायत विभिन्न देवीदेवताका झाँक्रीसमेत गुरा देउताको दर्शनका लागि आउने गर्छन्।
मेलाको पहिलो दिन साँझ बाजागाजासहित विभिन्न देवीदेवताका झाँक्रीलाई स्नानका लागि पानीधारामा लैजाने चलन छ। स्नानपछि उनीहरूलाई फर्काएर माझथारामा करिब डेढ घण्टासम्म ढोल, दमाहा लगायतका बाजा बजाउँदै नाचगान तथा झाँक्रीलाई पर्छो गर्ने गरिन्छ।
त्यस रातभर महिला, पुरुष तथा युवायुवतीले स्थानीय पहिरनमा गुरा देउताको मन्दिर आसपास देउडा खेल्ने परम्परा रहेको छ। नवमीको भोलिपल्ट बिहान विभिन्न देवीदेवताका झाँक्री नाच्ने गर्छन्। झाँक्री नाच हेर्न भक्तजनको बाक्लो उपस्थिति हुने गरेको स्थानीय बताउँछन्।
गुरा देउताको पूजा तथा दर्शन गरेमा सन्तान नभएकालाई सन्तान प्राप्त हुने, घरमा अशान्ति भए शान्ति मिल्ने तथा जग्गाजमिन, अन्न र पशुचौपाया नभएका परिवारले वर मागेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको वडा नम्बर ३ का अध्यक्ष सिंहबहादुर धामीले बताए।
उनका अनुसार यही धार्मिक विश्वासका कारण हरेक वर्ष नवमी मेलामा विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्। भक्तजनले गुरा देउतालाई भेटी, अक्षता, दुबो, खसी,बोका तथा घण्टलगायत सामग्री चढाउने गरेका छन्।
गुरा देउताको धार्मिक मेलालाई धार्मिक पर्यटनसँग जोड्न आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। गुरा देउताको थान तथा मन्दिरसहित आसपासका क्षेत्रमा विभिन्न देवीदेवताका मन्दिरसमेत रहेकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने गाउँपालिकाको भनाइ छ।
सदरमुकाम गमगढीदेखि भिई तथा कर्णाली करिडोरअन्तर्गत हुम्लादेखि भिईसम्म सडक तथा पदमार्ग निर्माण र मर्मतको काम भइरहेको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए। क्षेत्रका धार्मिक स्थल तथा देवीदेवताहरूको पहिचान, प्रचार ,प्रसार र पूर्वाधार विकास गरी भिईलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले गाउँपालिका विगतका वर्षदेखि काम गर्दै आएको उनले जानकारी दिए।








