हिमाको बाजागाडमा प्रथम रुपीछडा खुल्ला भलिबल प्रतियोगिता हुदै,प्रथम पुरस्कार ७७ हजार ७ सय ७७ रुपैयाँ

जुम्ला : हिमा गाउँपालिका ५ बाजागाडस्थित महादेव,मष्टा युवा क्लबको आयोजनामा प्रथम रुपीछडा खुल्ला भलिबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।रुपीछडा झरनाको संरक्षण, प्रचार–प्रसार तथा पर्यटन प्रवद्र्धनसँगै खेलकुद विकास, युवा प्रतिभाको पहिचान र आपसी भाइचारा, एकता तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको हो ।

प्रतियोगिता २०८३ असोज ८ गते देखि ११ गते सम्म हिमा गाउँपालिका ५,बाजागाड, जुम्लामा सञ्चालन हुने छ । टिम दर्ता शुल्क ४ हजार ४ सय ४४ तोकिएको छ। दर्ता असोज ४ गते बिहान १० बजेदेखि असोज ७ गते दिउँसो ३ बजेसम्म खुला रहने क्लबका अध्यक्ष कर्णति रावतले बताए ।
उनका अनुसार प्रतियोगिताको विजेताले रु ७७ हजार ७ सय ७७, उपविजेताले रु ४४ हजार ४ सय ४४ नगद पुरस्कार प्राप्त गर्नेछन् भने तृतीय हुने टिमलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ। उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर र डिफेन्डर लगायत विधामा समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ।

यसैगरी, आयोजकले ‘प्रथम रुपीछडा सांस्कृतिक देउडा कार्यक्रम २०८३ समेत आयोजना गर्ने जनाएको छ। सुदूरपश्चिम तथा कर्णालीको मौलिक पहिचान,लोकसंस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार देउडा संस्कृति पुस्तान्तरण तथा यसको मौलिकता जोगाउन कार्यक्रमले योगदान पु¥याउने छ। त्यस्तै क्लबका सचिव धर्म रोकायाले प्रतियोगिता बाजागाडका अगुवा युवाहरूको सक्रियतामा आफ्नै आर्थिक स्रोत संकलन गरी पहिलो पटक आयोजना गर्न लागिएको हो। स्थानीय युवाहरूको इच्छा शक्ति र एकताका साथ लगानी जुटाएर कार्यक्रम सञ्चालन गर्न लागेको बताए। उनका अनुसार स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम राखिएको हो ।

क्लबले रुपीछडा झरना तथा बाजागाड क्षेत्रको प्राकृतिक, धार्मिक र सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन प्रतियोगिताले योगदान पु¥याउने अपेक्षा गरेको छ। खेलकुद र संस्कृतिलाई पर्यटनसँग जोडेर स्थानीय क्षेत्रको प्रचार–प्रसार तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने क्लबको विश्वास छ।

महादेव मष्टा युवा क्लबले ‘देउडा हाम्रो संस्कृति, हाम्रो पहिचान र पुस्तौँको अमूल्य सम्पत्ति हो’ भन्ने भावना सहित प्रथम रुपीछडा सांस्कृतिक देउडा कार्यक्रम २०८३ समेत आयोजना गरेको बताएका छन। सुदूरपश्चिम र कर्णालीको मौलिक लोक संस्कृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा कार्यक्रम केन्द्रित रहने बताइएको छ। क्लबले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा भलिबल टोलीलाई सम्पर्क गरी समयमै टिम दर्ता गर्न आग्रह गरेको छ। जनक रोकायाको फोन ९८६६६०४६६५, नवीन शाहीको ९८६४९५२६७६ ,कर्णजित रावतको फोन ९७४३३०७०४५ धर्म रोकायाको फोन ९८६८३८९४७४मा सम्पर्क गर्न सक्न हुने छ ।

सम्बन्धित समाचार