बालविवाह ःसमस्या र समाधानको उपाय खोज्दै जुम्ला
जुम्ला ःअभिभावको मन्जुरीले केटा केटीको उमेर २० वर्ष पूरा भएको हुनु पर्ने कानुनी ब्यवस्था छ । मागी बिवाहा होस या प्रेम विवाहको लागि पनी केटा केटी दुवैको उमेर २० वर्ष पुगेको हुनु पर्ने नेपालको कानूनी व्यवस्था गरिएको हो । विवाह गर्दा गराउदा ढाँटेर, झुक्याएर, जालझेलमा पारेर र केटा केटीको इच्छा एवं सहमति विपरित विवाह गर्न गराउन समेत हुँदैन ।
कसैले कानूनले तोकेको उमेर पूरा नभएको अवस्थामा वा झुक्याएर वा केटा केटीको इच्छा विपरित जात, धर्म, परम्परा आदिका नाउमा विवाह गरे गराएका खण्डमा विवाह बदर हुने र त्यसरी विवाह गर्ने गराउनेलाई उमेरको अवस्था हेरी ६ महिला देखि ३ वर्ष सम्म कैद र जरिवाना हुने व्यवस्था नेपालको कानुनमा छ ।
तर जुम्लाका किशोरी २० वर्ष नपुग्दै ३ देखि ४ सन्तानका आमा भएको पाइन्छ । यधपी बालविवाहको एकिन तथ्याङक भने छैन । तर बिभिन्न स्वास्थ्य चौकी र बर्थिङ सेन्टरमा गर्भ जाँच गराउनेको संख्याको अधारमा हेर्ने हो भने,२० देखि २२ वर्ष उमेर समहुका किशोरीले २ देखी तिन सन्तान जन्माएको देखिने गरेको छ ।
त्यस्तै सम्वन्धी ऐनले १६ वर्ष उमेर नपुगेका लाई बालबालिका मानेको छ । कसैले विवाहको नाममा वा अन्य कारणले १६ वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा जर्वजस्ती करणीको गम्भीर अपराध हुने व्यवस्था रहेको छ ।
जुम्लामा बालविवाहाका घटना दिनप्रतिदिन बढदै थालेपछि प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग ,आत्मा सम्मानका लागी सहकार्य क्याड नेपाल जुम्लको आयोजना र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको सहमन्वयमा बालविवाह रोकथामका बारेमा अन्तरक्रिया भएको छ । नेपालको मुलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० वर्ष तोकिएको छ ।
नेपालको संवैधानिक इतिहासमा हालै मात्र जारी भएको नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हनन्को विषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ भन्दै अधिवत्ता अनिता तिमिल्सेनाले कानुन कार्यन्वयनको पाटो फतलो भएको बताइन । उनले जुम्ला जिल्लामा बालविवाह भयाभह अबस्था छ ।
बालिकाको विवाह १५ वर्ष नपुग्दै विवाह हुने गरेको बिभिन्न अध्ययनबाट देखिएको छ । यसो हुनुमा महिला भन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवम् सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरिबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरू प्रमुख रूपमा देखिएका छन् ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले जुम्लामा हुने बालविवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट वञ्चित मात्र गराउँदैन आफ्नो भविष्यको छनौट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा सहभागी हुने अवसरबाट पनि वञ्चित हुदै आएको बताइन । उनले बिभिन्न सार्वजानकि कार्यक्रममा विशेष गरी बालिका र महिलाको सन्दर्भमा बालविवाहले एउटा मात्रै अधिकारको उल्लङ्घन नगरी उनीहरूको जीवन चक्रमा थुप्रै अधिकार उल्लङ्घनको श्रृङ्खला सिर्जना गरी थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहेको बताइन ।
प्रजिअ प्रसाइले समाजमा देखिने घरेलु हिंसा देखिने, लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, बेचबिखन जस्ता थप हिंसाहरूले बालिका र महिलाहरू थप पीडित पीडित भएकाले यस्ता घटना लुकायर नबस्न सबै महिलाहरुलाई अग्रह गरिन ।
त्यस्तै आत्मा सम्मानका लागी सहकार्य क्याड नेपाल जुम्लाका परियोजना अधिकृत जयलक्ष्मी चौलागाईले अशिक्षा र कम आयस्रोत भएका परिवारका बालिकाहरू बालविवाहको बढी जोखिममा रहेका छन ।उनले भनिन्,“आर्थिक अवस्था सबल भन्दा कमजोर भएका महिलाहरूको कम उमेरमै विवाह भएको पाइन्छ । चौलागाइले जुम्लाको बालविवाहको रोकथामका लागी पत्रकार र स्थानीसरकार योक्षेत्रमा काम गर्ने संस्थाले संयुक्त अभियान चलाउन आबश्यक रहेको बताइन ।
बालविवाहले प्रश्रय पाइरहनुका कारण यि हुन
विवाहलाई महिला र पुरुषको दाम्पत्य जीवन भन्दा विवाह बन्धनको रूपमा लिने धार्मिक एवम् सांस्कृतिक मान्यता विवाहलाई पुरुष र महिलाको पारिवारिक मिलनसँग जोडी सामाजिक मर्यादालाई बढी महत्व दिने परम्परा,उमेर नपुग्दै हुने विवाहबाट हुनसक्ने हानी र थप समस्याको बारेमा जानकारीको न्यूनता ,छोरीलाई दायित्व र भारको रूपमा लिने पितृसत्तात्मक सोच किशोर किशोरीमा अपरिपक्वता र ज्ञानको अभाव ,किशोर किशोरीहरूमा विद्यालय शिक्षामा निरन्तरताको कमी लगायतका कारण बालविवाहले प्रश्रय पाइरहेको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले वैवाहिक कार्यमा अभिभावकको निर्णायक भूमिका सञ्चार सामग्री र सामाजिक सञ्जालको दुरूपयोगबाट किशोर किशोरीमा पर्न गएको नकारात्मक प्रभाव परेको बताए । उनले भने,‘बाल विवाह दण्डनीय अपराध भएको बारेमा जनचेतनाको कमी नभयर कानुन कार्यन्वयनको पाटो जरुरी रहेको बताए ।
बालबालिकालाई अनिवार्य रुपमा पढ्ने पढाउने वातावरणको सृजना गरिनु पर्दछ । बालविवाहबाट शारीरिक तथा मानसिक रुपमा पर्न सक्ने असर र क्षतिको बारेमा सवै अभिभावक तथा नावालक विद्यार्थीहरुलाई प्रशिक्षित गराउनु पर्ने बताए । शाहीले थपे,“बालविवाह गर्ने गराउनेलाई कानूनको दायरमा ल्याई सजाय समेत गरिनु पर्दछ । अनिमात्रै बालविवाह न्युनिकरण देखिन्छ ।
त्यस्तै बालविवाह बाट बालबालिका पढ्न पाउने, स्वेच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत वन्चित भईरहेका छन् । बालिका रजश्वला हुनभन्दा पूर्व नै विवाह गर्दा धार्मिक एवं सामाजिक दृष्टिकोण बाट उपयुक्त हुन्छ भन्ने धार्मिक अन्धविश्वास र परम्पराका कारण पनि बालविवाह हुने गरेको पाईन्छ । जसका कारण बेरोजगारी, आर्थिक अभाव र धेरै सन्तान भएका कारण बाध्यताले पनि वालविवाह जस्ता गैरकानूनी कार्यले प्रश्रय पाइरहेको देखिन्छ ।









