रुकुममा भीरबाट खसालेपछि एक बालकको मृत्यु

रुकुम  : रुकुम पूर्वमा साथीहरुसँगै गाईबस्तु चराउन जंगलमा गएका एक बालकको मृत्यु भएको छ ।  दुई जना साथी एक आपसमा झगडा हुँदा एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ । झगडामा जिल्लाको भूमे गाउँपालिका–१, लुकुमका ८ वर्षका बालकको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्याल रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका उनका ९ वर्षका अर्का साथीसँग झगडा हुँदा ८ बर्षका बालकलाई कुटपिट गरी भीरबाट धकेलिदिएका थिए ।

भीरबाट खसालेपछि ८ वर्षीय बालक गम्भीर घाइते भएका थिए । डिएसपी श्रेष्ठले दुबै जना बालकको नाम खुलाउन नमिल्ने बताए । घाइते बालकलाई आफन्तले सोमबार बेलुका रुकुम पूर्व अस्पतालमा ल्याएका थिए । अस्पताल पुर्याएलगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका हुन । उनको टाउको, छाती र घाँटीमा गम्भीर चोट लागेको थियो ।

कुटपिट गरेर भीरबाट खसालेका ९ वर्षका बालक र सँगै गोठाला गएका अर्का एक जना ८ वर्षका बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।