जसले रुकुममा श्रीमतीको घाँटी थिचेर हत्या गरे

बयानमा स्वीकार, पोष्टमार्टम रिर्पोटपछि थप स्पष्ट हुने

रुकुम पश्चिम :  गत शुक्रबार राती आफ्नै घरको कोठामा झुण्डिएर मृत्यु भएकी भनिएकी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाकी एक महिलाको हत्या भएको खुल्न आएको छ । बाँफिकोट गाउँपलिका वडा नम्बर ९  निवासी २६ बर्षकी कमला खनाललाई उनकै श्रीमानले हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार प्रारम्भिक अनुसन्धानबाट कमलाका श्रीमान दिपक खनाल भन्ने दलजित खनालले घाँटी थिचेर हत्या गरेको खुल्न आएको छ । रक्सी सेवन गरेका उनले खुट्टाले घाँटिमा टेकेर श्रीमतीलाई मारेपछि उनकै बर्को (सल)ले झुण्डाइदिएका थिए ।

शुक्रबार राती करिब १० बजे दिपकले श्रीमतीको हत्या गरेपछि परिवारका अन्य सदस्यहरुलाई कमलाले आत्महत्या गरेको बताएका थिए । उनीहरु खाना खाएर सुत्न गएका र परिवारका अन्य सदस्य भान्सामै रहेको बेला यस्तो घटना घटेको थियो ।

श्रीमान श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती कसरी झुण्डिएर मरिन् भन्ने कुरा शंकास्पद रहेको भन्दै परिवारका सदस्यले सोही बेलै दिपकप्रति शंका गरेका थिए । उनीहरुको ४ महिनाको छोरी समेत छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माको नेतृत्वमा जिल्लाबाट खटिएको अनुसन्धान टोलिले दिपकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको थियो ।

पक्राउ परेका दिपकलाई जिल्ला अदालत रुकुमबाट १० दिनको म्याद लिएर घटनाको थप अनुसन्धान गरिरहेको र पोष्टमार्टम रिपोर्टआएपछि थप कुरा स्पष्ट हुने प्रहरी निरीक्षक शर्माले बताए । बयानका क्रममा दिपकले हत्या गरेको स्विकार गरेको  उनको भनाइ छ  ।