जुम्ली किसानलाई भालुबाट मकै जोगाउने पिरलो
जुम्ला ः यति बेला जुम्ली किसानलाई भालु बाट बकै जोगाउन पिरलो छ । भालु भगाएर मकै जोगाउनका लागी लागि रातभर जाग्राम बस्न थालेका हुन । बारीमा लगाएको मकै बाली बचाउनको लागि रातभर जाग्राम बस्नु पर्ने बाध्यता रहेको तिला ६ रिपी गाउँका नरिमान रावतले बताए । उनले भने भालुले मकै सखाप पार्न थालेपछि किसान मकैबारीमै बस्न थालेका छौ । उनले भने,‘हम्रो मुख्य बाली मकै हो । मकै उत्पादन भएको खण्डमा खान समस्या हुदैन । यही मकै भालुले सखाप पार्न थालेपछि चिन्तित बनेका छौ । ’उनले भालु भगाउनको लागि हरेक बारीमा तर्साउने बस्तु राखिएको उनले बताए । भालु आउने बाटो पहिचान गरेर पासो थाप्ने देखि भाडाकुडा बजाएर भगाउने कार्य चलिरहेको छ । कहिलेकाँही थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास जारी नै छ । उनले भने,‘भालु नियन्त्रणमा लिन सकिने अवस्था छैन । बारीमा एक्लै हिड्न समेत सकस हुने गरेको छ ।एक त अन्नबाली उत्पादन कम हुन्छ,’ उनले भने, ‘त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन । ’ अधिकांश किसानले खेतबारी वरिपरि मान्छे जस्तै भ्याउने बनाएर राख्ने गरेका छन । दिउसो मानिसको व्यापक चहलपहल हुने भएकोले भालु बारीमा पस्न डराउँछ , भालु तर रातिको समयमा बारीमा बस्छ । बारीमा कुकुर बाँधेर राख्ने,मकैबारीमा पाल टाँगेर बस्ने गरिएको छ । अहिले किसानलाई मकै बचाउन भ्याइनभ्याइ छ । ’
किसानलाई भालु भगाउने समस्या भने यो पहिलो होइन । बर्षेनि भालुले बालीमा नोक्सानी पुर्याउन त्यहाका किसानको गुनासो छ । अहिले जिल्लाभर भालुको बिगविगी बढेको छ । यहाँका स्याउ बगैँचा, मौरीको घार देखि मकैबालीमा भालु पस्नाले निकै समस्या गरिरहेको किसान बताउँछन ।
यसअघि आहाराको खोजिमा भालु जुम्ला सदरमुकाम खलंगा बजारमा पसेको थियो । त्यो बेला सदरमुकामको मुटुमै तिन जनालाई आक्रमण गरेको थियो । नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा भालु मारिएको थियो ।








