कर्णाली स्वास्थ्य विज्ञान अब विशिष्ट अस्पताल
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशिष्टकृत अस्पतालका रुपमा विकास गरिने भएको छ । नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि विकास गरिने तयारी स्वास्थ्य मन्त्रालयको छ ।
मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत रहेको नसर्ने तथा मानसिक रोग शाखाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै अरु सात वटा असपताललाई पनि चालु आर्थिक वर्ष भित्र नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागेको हो ।
महाशाखाका नसर्ने तथा मानसिक रोग शाखा प्रमुख डा फणिन्द्र बरालले कर्णालीसँगै सात वटा अस्पतालमा नसर्ने रोगको विशिष्टकृत सेवा सुरु गर्न सरकारले चालु आर्थिक वर्षमा ६६ करोडको बजेट बिनियोजन गरेको जानकारी दिए ।
सात वटा अस्पतालहरुमा कर्णालीसँगै कोशी अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन, भेरी अस्पताल नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल धनगढी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।
यी अस्पतालहरुमा कार्डियोलोजी, क्यान्सर, सिओपिडी, मिर्गौला, मधुमेह लगायत नसर्ने रोगको उपचारका लागि विशेष व्यवस्था गरिने छ ।








