वीरेन्द्रनगरः कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर बढेपछि सुर्खेतको वीरेन्द्रनगरमा महामारी कोरोनाविरुद्ध ‘तपाईको मास्क खै’ अभियान शुरु भएको छ । अभियानसँगै नागरिकहरुलाई मास्क समेत वितरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न संघ संस्थाहरूले ‘तपाईको मास्क खै’ अभियान सुरु गरेका हुन् । उक्त अभियानबाट साउन १९, २० र आज २१ गते बिहिबार पनि वीरेन्द्रनगरमा जिल्ला प्रशासन र प्रहरी कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासंघ, इन्सेक र रेडक्रस लगायतका संघ संस्थाहरूले मास्क वितरण गरेका हुन् ।
प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र नागरिकहरुले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरणसँगै ‘तपाईको मास्क खै’ अभियान सुरु गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । वीरेन्द्रनगरका विभिन्न स्थानहरुमा पाँचसय भन्दा बढी नागरिकलाई मास्क वितरण गरिएको थियो ।