प्राधिकरणले चासो नदिदा जुम्ला विमानस्थलको डिपिआर अलपत्र

जुम्ला ःस्तरबृद्धिका लागि बनेको जुम्ला विमानस्थलको डिपिआर अलपत्र परेको छ। दुई बर्ष पहिले नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयले जुम्ला विमानस्थल स्तरउन्नती गर्न डिपिआर बनाएको थिए। त्यो डिपिआर कार्यन्वयन भएको छैन । विमानस्थलको स्तरउन्नती नाममै सिमित भएको छ ।
डिपिआरमा एक करोड रुपैयाँ बढीको लागत लाग्ने अनुमान गरिएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणले चासो नदिएको सरोकारवाला बताउँछन्।तत्कालीन पर्यटनमन्त्री स्वर्गिय रविन्द्र अधिकारी जुम्लामा आउदा ४० सिटको जहाज अवतरण गर्न मिल्ने विमानस्थल बनाउने बचन दिएका थिए। तर उनको निधन भएपछि जुम्ला विमानस्थलको स्तरउन्नती बारेमा कसैको ध्यान पुगेको छैन ।
साँघुरो धावनमार्गका कारण विमानस्थल जहाज अवतरणमा समस्या भइरहेको छ।
२०७५ साल जेठ २६ तारा एयरको जहाज जुम्ला विमानस्थकै धावनमार्गमा दुर्घटनामा परेको थियो। त्यो दुर्घटनामा मानवीय क्षति भने हुन पाएन। जहाज दुर्घटनासँगै विमानस्थलको स्तरउन्नतीको पहल सुरु भएको थियो। प्राधिकरणको टोली स्तरउन्नतीको लागि पटक पटक जुम्ला पुगेर फर्किएको छ।डिपिआर समेत बनेको छ तर पनि विमानस्थलको स्तरउन्नती हुन भने सकेको छैन। जुम्ला विमानस्थलमा दैनिक न्युनतम ३ देखि ५ वटा उडान हुने गरेको छ।
साँघुरो धावनमार्गमा जोखिम मोलेरै भएपनि चालकहरुलाई उडान भर्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ। तारा एयरका पाइलट प्रभाकर घिमिरे धावनमार्ग जति लामो भयो उतिनै सुरक्षित र भर पर्दो हुने बताउँछन्। तर, जुम्लालगायत हिमाली जिल्लाका धावनमार्ग धेरै लामा छैनन्। जोमिखका बीच पनि उडान तथा अवरतण गर्नुपर्ने बाध्यता भएको बताउँछन्। कर्णालीका अन्य जिल्ला भन्दा जुम्ला विमानस्थल सुरक्षित नै मानिदै आएको छ ।
जुम्ला विमानस्थलका प्रमुख प्रकाश शर्माले जुम्लामा यात्रु चापलाई मध्यनजर गर्दा ठुलो जहाजको उडान सम्भव हुने बताए । त्यसका लागि विमानस्थलको स्तरबृद्धि आवश्यक छ,उनले भने,डिपिआर बनिसकेको छ। कार्यन्वयनको आवश्यक छ।
हाल जुम्ला लगायत कर्णालीका डोल्पा, मुगु, हुम्लामा १८ सिटे जहाज संचालित रहेका छन्। कर्णालीका अरु जिल्ला मध्ये जुम्लामा यात्रुको चाप अत्यधिक छ। धेरैले टिकट नपाउने समस्या छ। त्यसैले विमानस्थलको स्तरउन्नति गरेर ठूला जहाज सञ्चालनको सम्भावना रहेको प्रमुख शर्माको भनाइ छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा दुई वर्ष पहिले नै डिपिआर तयार भएपनि नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयरले अहिले सम्म चासो नदिएको बताउँछन्। अहिले सम्म डिपिआरकै अत्तोपत्तो समेत छैन्। धावनमार्ग छोटो हुँदा हुँदै पनि पाईटलहरूले जोखिमबीच उडान गरेका छन्। स्तरवृद्धिको आश देखाएर मात्र हुँदैन। स्तरबृद्धिको काम गर्न प्राधिरकणले छिटै प्रक्रिया सुरु गर्नसमेत उनको माग छ।








