जुम्लाको धौलीगाड खानेपानी आयोजना बाट ९ हजार १०८ घरधुरीका नागरिक लाभान्वित हुने

जुम्ला– १ अर्ब भन्दा बढी लागतमा निमार्ण हुने धौलीगाड खानेपानी आयोजना बाट जुम्लाका ९ हजार १०८ घरधुरीका नागरिक लाभान्वित हुने भएका छन । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा सबैभन्दा ठूलो धौलीगाड खानेपानी आयोजना निर्माण हुने भएको हो । पहिलो चरणको टेन्डर भएको आयोजना निर्माणको लागत १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ रहेको छ । लामो प्रयासपछि आयोजना निर्माण गर्न विद्युतीय खरिद प्रणाली मार्फत टेन्डर भएको हो । जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकाको रोहबरमा टेन्डर गरिएको संघीय खानेपानी आयोजनाका प्रमुख महेश न्यौपाने बताए । उनका अनुसार १ अर्ब २६ करोड ८ लाख ४ सय ९० रुपैयाँ लागतको बहुवर्षीय आयोजनाको पहिलो चरणको टेन्डर भएपछि आयोजनाले मूर्त रूप पाएको छ ।
स्थानीय सरकारको रोहबरमा विद्युतीय खरिद प्रणालीबाट हिमाली क्षेत्रको सबैभन्दा ठूलो ८ हजार २ सय ९२ धारा निर्माण हुने भएकाले खानेपानी आयोजना टेन्डरमा गएको हो ।जुम्ला सदरमुकाममा खानेपानी चरम समस्या भइरहेको समयमा चन्दननाथ सहित ३ वटा स्थानीय तहका ९ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुने छन् ।
करिब १२ वर्षपछि आयोजना टेन्डर भएको जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । उनले भने ,जुम्ली जनताको ठूलो सपना धौलीगाड खानेपानी आयोजना टेन्डरमा गएपछि ठूलो फाइदा हुने बताए । उनले यो आयोजनालाई मूर्त रूप दिन सहयोग गर्ने स्थानीय सरकार सहित सबैलाई आभारब्यक्त गरे । आयोजनाको १ प्रतिशत श्रमदानका लागि लाभान्वित स्थानीय ३ वटै तहले १ करोड ४६ लाख रुपैयाँ बैंकमा अग्रिम जम्मा गरेपछि आयोजना सफल भएको छ । चन्दननाथ नगरपालिकाले ५० लाख, तातोपानी गाउँपालिकाले ५० लाख र गुठीचौर गाउँपालिकाले ४६ लाख बजेट पहिलै बैंक धरौटी राखेका छन् ।

यसैगरी ३ वटै स्थानीय सरकारले त्रिपक्षीय सम्झौता गरेर स्थानीय स्तरमा आवश्यक अपनत्व लिएका छन् । विभिन्न बाधा÷अड्चनबीच राष्ट्रिय योजना आयोगले फाइल अगाडि बढाएपछि आयोजनाको टेन्डर जारी गर्न सफल भएको छ । आयोजनाको ७० किलोमिटर पाइप लाइनबाट खानेपानी ल्याइने योजना छ ।२०६६ मा स्थानीय राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समिति हुँदै जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको नेतृत्वमा चन्दननाथ नगरपालिका नगरप्रमुख कान्तिका सेजुवाल, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीसहितको तदर्थ समितिको पहल र जनप्रतिनिधि, सरकार र सरोकारवाला निकायको सहयोगले आयोजना टेन्डरमा जान सफल भएको हो ।

आयोजना निर्माणका लागि कर्णाली सरकारका जलस्रोत तथा ऊर्जामन्त्री दीनबन्धु श्रेष्ठ, पूर्वमन्त्री नरेश भण्डारी, पूर्वराज्यमन्त्री बलबहादुर महत, राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, भूमि व्यवस्था आयोग जुम्लाका अध्यक्ष धिरेन्द्र राज गिरी, पूर्वखानेपानीमन्त्री प्रेमहादुर सिंह, उपभोक्ता समितिका अध्यक्ष राजबहादुर खत्री, स्थानीय प्रशासनलगायतले पहल गरेको समन्वय उपप्रमुख बुढाले जानकारी दिए । धौलिगाड खानेपानी आयोजना करिब ४ हजार मिटर उचाइमा रहेको र हिउँ जम्ने ठाउमा मूल भएकाले आधुनिक प्रविधिका सामग्री प्रयोग गरिने भएको छ ।