शुशिलाको संघर्षपूर्ण जीवन कथा
जुम्ला । बिहानको १० बजेको छ । असारको महिना । सिमसिमे झरी । देशभरी लकडाउन छ । शहरबजारमा अझ मानिस बाहिर पनि धेरै कम निस्कन्छन् । गाउँ तिर भने लकडाउन भन्दा पनि कामको चटारो छ । कोहि रोपाइमा व्यस्त छन् भने कोहि दैनिक ज्यालादारीमा काम गरीरहेका भेटिन्छन् गाउँघर तिर ।
कर्णाली प्रदेश । जुम्ला जिल्ला । कम्ता सुन्दर देखिदैन् चन्दननाथको मिचा गाउँ । प्रकृतिले सुन्दर मिचाकी शुशिला रावलभने हरेक दिन दुःखको घुम्टोसंगै जीवन व्यतित गर्छिन ।
उनीसंग जीवनको धेरै अनुभव छ । उनी बािहर हाँसास्दा पनि भित्र मनभने डाँडामाथि लागेको कालो बादल जस्तै छ ।
उनी पिठ्युमा भारीमात्र बोक्दिनन । त्यो भारी भन्दा बढी गह्रुगो दुःखको भारी पनि संगै बोक्छिन् । हो , शुशिलाले भारी बोकेर जीवन निर्वाह गर्छन । उनको दैनिकि श्रमिक भए बित्छ ।
उनको सपना पनि कहाँ छुट्यो । उनलाई नै थाह छैन । सपना छ कसरी पेट पाल्ने । अपाङ छोराको उपचार गर्ने । बस दुई ज्यानको पेटमा अन्न पस्नु नै उनको सपना छ ।
ज्यालादारी काम । कहिले पाइने । कहिले पाइदैन । तर पेटले मान्दैन ज्यालादारी नपाएका दिन भोक नलागोस । भोक लाग्छ, पापी पेट मान्दैन , पाखुरी नचलाई हुदैन । दुःख सुख त यस्तै हो । जीवन चलाउनु नै छ भने कति रुएर बस्नु । मुसुक्क हाँसेर भनिन्, ज्यालादारी नगरे खाने के ? काम गरेर नै जीवन चलिरहेको छ । दुःख माने बसेर हुदैन ।’
उनीसंग कुरा गदै गए । उनी वर्तमानबाट १० बर्ष पछाडि पुगिन । कलकलाउदो उमेर । १६–१८ बर्षमा मानिस जे कुरा गरेपनि हाँस्छ । उसलाई लाग्छ जीवन हाँस्नु खानु । आफ्ना आवश्यकता आमाबुबाबाट पुरा गराउनु । तर शुशिलाको विवाह १० बर्ष पहिला १८ बर्षको उमेरमा भयो ।
विवाह पछि मानिसका नाता सम्बन्ध बदलिन्छन् । उनीहरुको काम बदलिन्छ । एक महिला विवाह पछि बुहारी हुन्छ । श्रीमति हुन्छ । भाउजु हुन्छ । धेरै नाता सम्बन्ध नयाँ जोडिन्छन् । अझ हाम्रो जस्तो समाजमा नाम पछिको थर बदलिन्छ ।
शुशिलाको पनि विवाह भयो । नाता सम्बन्ध नयाँ थपिए । जिम्मेवारी बढ्यो । सन्तान जन्म्यो । खुशिले जीवनमा पाइला राखेको थियो । नयाँ नयाँ विवाह । विवाहको एक ढेड बर्षमा सन्तान जन्म्यो ।
तर उनको जीवनमा आएको खुशि पिडालुको पातमाथिको पानीको थोपा जस्तै भयो । विवाह भएको दुई बर्षमा उनका श्रीमानको मृत्यु भयो । उनको श्रीमानको मृत्युसंगै उनको जीवनमा झन पिडा,दुःख थपियो । उनको श्रीमानको मृत्युसंगै उनको सिन्दुर उनीसंगै गयो । चुरा खोसिए । उनले लगाउने पहिरनमा पनि फरक प¥यो ।
उनको श्रीमानको मृत्यु भएको १० बर्ष भइसक्यो । मृत्यु भएको १० बर्ष भएपनि उनको सम्झना भने हरेक क्षण उनीसंग हुन्छ । जो भनेर जन्मघर छोडेर आए उसले पनि यो धर्ति छोडे पनि बिर्सन भने सकिदो रहेन छ । छोरो अपाङ छ । उपचार गर्नु पर्छ । सबै कुराको दुःख पिडाले झन सम्झना आउदो रहेछ । यति भनिरहदा आँखाको ढीलमा आँसु टलपलाए उनका ।
आँखाको ढीलमा पुगेका आँसुले गाला पुग्न पाएन । मनेठोको सप्कोले आँसु पुछिन । अनुहारमा एकै छिनमा पिडाको बादल लाग्यो । भन्छिन् ‘आँसु पनि सुकिसके होलान सोच्छु । तर पिडा हुदा आइ हाल्छन् । साथि भनेको छाया र आँसु मात्र रहेछ लाग्छ ।’
हो, श्रीमानको मृत्यु भएको १० बर्ष भयो । छोरा अपाङ छ । दृष्टि बिहिन । जसले जीवनमा उज्यालो देखाउला भनेर आसा मानेकि थिइन त्यहि छोरा दृष्टि बिहिन । उफ जीवन । उनी मसंग बोलिरहदा मैले उनको अनुहारबाट आँखा हटाउन सकिन । हरेक शब्द शब्दमा उनको अनुहारमा उनका दुःख पिडाका छालहरु उर्लेर आउथे । मानौ बर्षातमा कर्नाली उनको अनुहारमा नै उर्लेर बगीरहेको छ ।
एक हातले आँसु पुच्छदै भनिन् ‘बहिनी आशा भरोसा छोरामाथि थियो । मेरा पाखुरीमा बल सकिए यसका पाखुरीले पाल्छ सोचेकि थिए । तर आँखा देख्दैन । दुखिको भागमा दुखमात्र हुदो रहेछ ।’
जीवन यापनको लागि संघर्ष गरीरहेकी छिन् शुशिला । उनको दैनिकी उज्यालोसंगै ज्यालादारीको काम खोज्नबाट सुरु हुन्छ । उनको दैनिकी काम जहाँ पाईन्छ त्यहाँ बाट सुरु हुन्छ । दैनिक ज्यालादारीमा पाँच सय दैनिक कमाउछिन् । त्यहि पाँच सयले उनको र छोराका लालन पालन हुन्छ ।
उसो त उनले सरकारबाट एकल महिला भत्ता पनि पाईरहेकी छिन् । हो उनीसंग सरकार भएको अनुभव नागरिकता र त्यहि एकल भत्ता छ । यो देशमा सरकार छ भनेर सम्झाउने त्यहि भत्ता र नागरिकता छ ।
उनको चाहना छ अपाङ छोरोले पनि भत्ता पाए केहि सहज हुन्थ्यो । भन्छिन ‘अपांग छोराको पनि भत्ता पाउनु पर्ने हो । तर अहिलेसम्म पाएको छैन । उसले पाउनु पर्ने हो । तर अहिलेसम्म पाएको छैन ।’
उनी अहिले छोराकोलागि आमा पनि बुबा पनि भइरहेकी छिन् । छोराको उपचारको जिम्मेवारी ,लालन पालनको जिम्मेवारी उनले नै उठाउनु परेको छ । उनी भन्छिन् ‘उहाँ हुदा मलाई यति दुःख हुदैन थियो । घर खर्च , अरु समस्याको समाधान उनी आफै गर्थे । तर अहिले आफैले सबै काम गर्नु पर्छ । घर खर्च जुटाउनु पर्छ ।’
दृष्टि बहिन छोराको उपचार हुन सक्छ कि भन्ने आसाको धर्सो पनि उनको मनको कुनामा कहि न कहि बाँकि छ । त्यहि भएर छ छोरोको उपचार गर्न धेरै ठाउँमा पुगीन । उनी भन्छिन् ‘छोराको उपचार हुन्छ कि भनेर धेरै ठाउँ पुगे । त अहिलेसम्म ठिक भएको छैन । तर अहिलेपनि आसा मारेको छैन ।’
उनले छोराको उपचार गर्न भएको धनसम्पति बेचिन तर अहिलेपनि केहि सुधार भएको छैन ।
श्रीमान गुमाएपिछ उनको जीवनमा अध्यारो जस्तो लाग्छ । उनको जीवन माथि कुनै उपन्यास कारले उपन्यास लेखे पनि पुग्ने कथाहरु छन् । कुनै डाइरेक्टरले फिलिम बनाए फिल्म बन्छ होला । तर उनको जीवन अहिलेपनि दैनिक ज्यलादारीमा बितिरहेको छ ।
उनको संघर्षको कथा बेग्लैछ । काम गरेर, सानोतिनो खोतिपाति गरेर आफु र छोराको जीवनमा संघर्ष गरिरहेकी छन् । उनी चाहन्छिन् छोराको उपचार गर्न पाए हुन्थ्यो । तर उनीसंग अब उपचार गर्न पैसा छैन । राज्यले उपचार गरीदिन्न । तर मनकारी मनहरुले सहयोग गरे छोराको उपचार हुन्थ्यो कि भनेर आसा पनि गर्छिन । हो धेरै हातहरुले सहयोग गरे उनको जीवनमा एक धर्को उज्यालो आउथ्यो कि ?सकिन्छ भने आउनौस् सहयोगको सुरुवात गरौ ।








