कर्णालीमा ९१ प्रतिशत संक्रमित कोरोनामुक्त

सुर्खेत : कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्केका छन्।  कुल संक्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत)ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए।

 

 

एक लाख २० हजार २७८ को पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ।

‘पछिल्लोे दुई सातायता कोरोना संक्रमण दर ओरालो लागेको छ। अहिले संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको छ,’ डा. खड्काले भने, ‘नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ। यसले संक्रमण जित्नेको आत्मबल बढेको पाएका छौं।’

आइसोलेशनमा बस्ने दुई हजार संक्रमितको संख्या घटेर एक हजार २३० मा पुगेको उनले बताए। डा. खड्काका अनुसार मृत्युको संख्यामा पनि कमी आएको छ। कर्णालीमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

कोरोना महामारीबाट सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ। सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।