पातारासीले छात्रवृत्तिमा एक जना एमबीबीएस पढाउने
जुम्ला ः जुम्लाको पातारासी गाउँपालिकाले एक जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको छ । गाउँपालिकाले सातौं गाउँ सभामाले एक जनालाई एमबीबीएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा ल्याएको हो। बिहीबार ‘शिक्षा, स्वास्थ्य, विद्युत, सञ्चार र रोजगार हाम्रो सरोकार र कृषि, जडिबुटी, पर्यटन समृद्ध पालिका निर्माणको मूल आधार’ भन्ने मुल नारासहित नीति तथा कार्यक्रम सार्वजनिक छ । पातारासी गाउँपालिका स्वास्थ्य संयोजक रतन बुढ्थापाले गाउँपालिकामा एमबीबीएस पढेका एक जना व्यक्ति नभएको बताए । उनले भने, यस कारणले गाउसभा बाटै एक जनालाई छात्रवृत्तिमा एमबीबीएस पढाउने लक्ष्य ल्याएको हो ।
‘पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएको यस गाउँपालिकामा मेडिकल अधिकृतको अभाव निकै खड्किएको बताए । एमबीबीएस छात्रवृत्तिमा भए पनि पढाउनुपर्छ भन्ने गाउँपालिकालाई कोभिड महामारीले नै पाठ सिकाएको उनको भनाइ छ । गाउँपालिकाले एमबीबीएस पढ्ने एक जनाको सम्पूर्ण खर्च ब्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । पातारासीमा अहिलेसम्म एमबीबीएस अध्ययन गरेको कोही नभएकाले प्रोत्साहन गर्नका लागि यस्तो नीति लिएको प्रमुख प्रशासनिक अधिकृत टेकबहादुर बुढथापाले बताए । उनका अनुसार सातौं गाउँ सभाबाट पातारासी गाउँपालिकाले ४१ करोड १२ लाख ६६ हजार ३ सय ४४ रुपैयाँको बजेट बिनियोजन गरेको छ ।








