हुम्लाका र कालिकोटका कोरोना संक्रमित उपचारको लागी जुम्ला ल्याइयो
दिलमाया शाही
जुम्ला ः हुम्लाबाट हेलिकोप्टरमा एक जना कोरोना संक्रमण्का विरामी जुम्ला ल्याईएको छ । कोरोना भाईरसको संक्रमणले समस्या भएपछि हुम्ला सर्केघाट गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई उपचारको लागी जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानममा ल्याईएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कोभिड फोकल स्वास्थ्यकर्मीको टोली विमानस्थलमा गएर रिसिव गरि एम्बुलेन्समार्फत प्रतिष्ठान ल्याईएको हो ।
त्यसैगरी, कोभिड अस्पताल कालिकोटमा अक्सिजन अभाव भएपछि दुई जना बिरामीलाई जुम्ला रेफर गरिएको कालिकोट जिल्ला अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार तिलागुफा नगरपालिकाका ६१ वर्षीय एक महिला र खाँडाचक्र नगरपालिका निवासी ४१ वर्षका एक पुरुषलाई एम्बुलेन्समार्फत जुम्ला अस्पतालमा ल्याइएको हो । अक्सिजन अभाव भएपछि संक्रमित बचाउन गाह्रो हुने भन्दै जुम्ला अस्पतालमा रेफर गरिएको कोभिड अस्पताल कालिकोटका डा. रामकमल कार्कीले जानकारी दिए । उनले भने,‘कालिकोटमा अक्सिजन अभाव छ । अक्सिजन अभाव भएर बिरामीको मृत्युको अवस्था आउन नदिन जुम्लामा रेफर गरेका हौँ ।
एक दुई सिलिन्डर मात्र अक्सिजन छ । यसले नपुग्ने आएको समस्या भयो ।’ यसअघि सुर्खेतबाट पनि पाँच जना विरामी उपचारका लागि जुम्ला ल्याएको थियो । अहिले जिल्लावाहिर बाट धेरै विरामीहरु जुम्ला आउन सम्पर्क गरिरहेको पाइएको छ । काठमाण्डौबाट वेड नपाएर एक जना विरामी जुम्ला आउने खबर भईरहेको कर्णाली प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । यस अघि सुर्खेतबाट जुम्ला आएका दुई जना संक्रमित विरामी सन्चो भएर घर फर्किएका छन् । प्रतिष्ठानमा २९ जना भर्ना भएका छन । जुम्लामा २ सय २४ जनामा कोरोना संक्रमण भएको जनस्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य निरीक्षक प्रेम सोमाईका अनुसार १३३ जनाको पिसिआर र एन्टिजन गर्दा ९१ जनामा कोरोना संक्रमण भएको बताए ।








