यार्सा टिप्न पाटन पुगेका जुम्ली युवाको मृत्यु, चार कर्मचारीको उद्धार

यार्सा पाटन खुल्नु अगावै यार्सागुम्बा चोर्न पाटन पुगेका एकजना जुम्ली युवाको लेक लागेर मृत्यु भएको छ।

जुम्ला जिल्ला गोठीचौर गाउँपालिका-७, ग्रज्याङ्कोटका १७ वर्षीय युवा सुमन रावलको लेक लागेर मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

जुम्ला–डोल्पा सिमानामा पर्ने जगदुल्ला गाउँपालिका अन्तर्गत पर्ने यार्सा पाटनमा यार्सा सिजन खुल्नु अगावै संकलन लागि गएको र लेक लागेर बिरामी भएपछि काइगाउँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको पाण्डेले बताए।

लेक लागेर सिकिस्त बिरामी परेका उनलाई बचाउन धेरै प्रयास गरेपनि नसकिएको काइगाउँ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले बताएका छन्‌। मृतक रावलको शव अन्तिम संस्कार गर्न उनकै दाजुले जुम्लातर्फ लगेका छन्‌।

​कोरोना कहरका कारण अघिल्लो वर्ष नखुलेका यार्सा पाटन यस वर्ष भने आगामी जेष्ठ १० देखि खुलाउने निर्णय गरिएको छ।

चार जना समातिए

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा पर्ने भोक्पा,भाँङ्का यार्सापाटनमा यार्सा संकलनका लागि पुगेका जुम्लाका चारजना नागरिक पक्राउ परेका छन्।

यार्सा पाटन खुल्नु अगावै लुकिछिपि यार्सा संकलन गर्न पाटन पुगेका उनीहरूलाई स्थानीयको सहायतामा निकुञ्जको गस्ती टोलीले पक्राउ गरेको हो।

निकुञ्जको नियमित गस्ती टोलीले पक्राउ गरेको निकुञ्ज कार्यालय सुलिगाडमा ल्याइ सकिएकाले मुद्दा चलाउने तयारी भइरहेको निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए।

हेलिकप्टरबाट बिरामी कर्मचारी उद्धार

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोबाट चार जना बिरामी कर्मचारीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

चार दिनदेखि बिरामी भई थला परेका स्वास्थ्य संयोजक सुरेन्द्र विक, प्राविधिक खेमराज सिंह,प्राविधिक माधव पुन र तिन्जे स्वास्थ्य चौकी प्रमुख दिक्पाल रोकायालाई बिहीबार विहान सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो।

चारै जनालाई उद्धार गरेर उपचारका लागि सुर्खेत लगिएको गाउँपालिकाले जनाएको छ।

कार्यालयको कामको शिलशिलामा बैशाख ४ गते उपल्लो डोल्पा हिँडेका कर्मचारीहरू रुघाखोकी, ज्वरो, शरीर दुख्ने र सास फेर्न गाह्रो हुने समस्याले सिकिस्त बिरामी परेका थिए।थाहा खवरबाट सभार 

सम्बन्धित समाचार