जुम्लामा आगलागीबाट ३५ घर जलेर नष्ट,
जुम्ला ः तिला गाउँपालिकाको ९वडाको ढिपु गाउँमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन्। ७५ घरदुरी भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले बताए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ। प्रयाप्त पानी नभएको कारण आगो नियन्त्रणमा आउन सकेको उनको भनाइ छ । घरको छाना निकाल्ने र माटो हालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । वडाध्यक्ष बोहोराले भने,‘आगो नियन्त्रण बाहिर छ। निभाउनको लागि पानी छैन। घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन।’ ३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ। आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ। आगलागीका कारण मान्छेहरु बेहोस छन्। आगलागीको एकीन विवरण आउन बाँकी छ। आग्लागी भएको ठाउ बर्षायाममा ६ महिना बस्ने बस्ती रहेको बुझीएको छ । यो समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकोले सबै ढिपु गाउँमा बसेका छन्। मुल्लीमा बर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको छ , वडाध्यक्ष बोहोराले भने,‘स्याउला संकलनका लागि एक दुई दिनभित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए। आगोले बस्ती खरानी बनाइसक्यो। ’ उनले उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गरेका छन्। जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आगलागी भएको खबर पाउने वित्तिकै तत्काल उद्वारको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएका घटनास्थल तिर पठाइसकेको बताए।
सदरमुकाम खलंगादेखि गएको प्रहरीको टोली पाँच घण्टापछि आगलागी स्थलमा पुग्नेछ। उनले तत्काल राहत र उद्धारमा सहयोग गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन्। त्यस्तै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले तिला गाउँपालिका–९, ढिपुको मुल्लीमा आगलागी भई ३५ घर नष्ट भएको प्रारम्भिक खवरले दुखित तुल्याएको बताए । उद्धारका लागि घटनास्थल तर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ उनले भने,‘ उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न सम्बद्ध पक्षलाई अनुरोध गर्दछु।’यसअघि तिला गाउँपालिका ७ पोखरी गाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो। यो संगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ। सदरमुकाम स्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वन आगलागी भएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउन सफल भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।








