समाचार लेखेकै कारण पत्रकार महासंघले पत्रकारको नाम हटायो

जुम्ला : जुम्ला पत्रकार महासंघले समाचार लेखेको आधारमा महासंघ जुम्ला शाखाले केही पत्रकारलाई सदस्यको सूचीबाट हटाएको छ। केही दिनअघि थाहाखबरकर्मी दिलमाया शाहीले जुम्लाको हाइअल्टिच्युट निर्माणमा भएको अनियमितताबारे समाचार लेखेकी थिइन्। समाचारमा महासंघका अध्यक्ष बरमबहादुर महत जोडिएका थिए।
महतले नै प्रदेश सरकारको मौखिक निर्णय भन्दै किर्ते गरेर वडा कार्यालयलाई पत्र लेखेका थिए। उक्त समाचार छापिएपछि महतले अर्को किर्ते गरेको फेला परेको हो।
महतले पत्रकार महासंघ जुम्लाको निर्णय भन्दै एकै दिनको मिति राखेर दुई निर्णय सार्वजनिक गरेका छन्। महासंघले एकै दिनको मिति राखेर पत्रकार महासंघ जुम्लाका सदस्यहरुका नाम लिस्ट फरक फरक सार्वजनिक गरेको छ।
२०७७ भदौ ३१ गतेको मितिमा जुम्ला पत्रकार महासंघले पठाएको पत्रानुसार पत्रकार महासंघ कर्णाली प्रदेशको बैठकले निर्णय गरेर पठाएका पत्रकारको नाम हटाई सोही मितिमा जुम्ला पत्रकार महासंघको नाममा पत्रकार महासंघ केन्द्रलाई अर्को नाम लिस्ट पठाइएको खुलासा भएको छ।
जसमा पहिलो पत्रमा दिलमाया शाही, शिवानी विक, हीराबहादुर रोकाया, कल्पना रावत, कृष्णबहादुर विक छन्।
शाहीको नाम ३ नं मा, शिवानी विकको चौथोमा, रोकायाको २३ मा, रावतको २४, कृष्णबहादुर विकको ३३ मा छ। महासंघका अध्यक्ष र केही पदाधिकारीको मिलोमतोमा आफूहरुको नाम हटाएको पीडित पत्रकारले बताए।
पत्रकार महासंघ जुम्लाका अध्यक्ष महत भने आफूले कसैलाई नहटाएको र विधानले भनेअनुसार उहाँहरु पत्रकार महासंघको सदस्यता दिने दिन जुन सञ्चार गृहबाट नियुक्ति पाएका थिए त्यो सञ्चार गृहमा काम नगरेकाले सदस्यता दिन नमिलेको बताए।
पत्रकार महासंघको नाममा एक महिनामा दुई पत्र पत्रकार महासंघ केन्द्रीय कार्यलयमा पठाएका छन्। तर महत भने एक पत्र मात्र आधिकारिक भएको बताउँछन्। उनले भने, ‘३१ भदौ २०७७ सालको पत्र आधिकारिक होइन। ५ भदौ २०७७ को पत्र आधिकारिक हो।’
तर दुवै पत्रमा तपाईंको हस्ताक्षर छ नि भन्दा यसबारे आफूले जिल्लामा गएर बुझ्ने उनले बताए। उनले भने, ‘म जिल्लाबाहिर छु। जिल्लामा गएपछि दुवै पत्र अध्ययन गर्छु। अहिले यस्तै भन्न सक्दिनँ।’
पहिलो पत्रमा ३३ जना सिफारिस गरिएकोमा प्रदेश महासंघले आवश्यक छानबिन गर्दा अन्य पत्रकार नभएका कारण ११ जनाको नाम केन्द्रलाई अगाडि बढाइएको उनले बताए।
यसैगरी प्रदेशले पत्रकारहरुको नाम अगाडि बढाएपछि आफ्ना मान्छे (गैरपत्रकारहरु) नपरेपछि प्रदेशले बढाएका पत्रकारहरु शाही, विक, शिवानीसहित ५ जनाको नाम हटाएर उही मितिमा सीधै केन्द्रलाई महासंघको लेटरप्याडबिनै ३० जनाको नाम अर्को पत्रमा पठाइएको पाइएको छ। त्यसमा लिस्टमा अधिकांश गैरपत्रकार रहेका हटाइएका पत्रकारहरुको आरोप छ।
जसमा कार्यवाहक सचिव नौरते नेपालीकी श्रीमती माया नेपाली र अध्यक्ष बरमबहादुर महत प्रमुख भएको खेलकुद कार्यालयमा काम गर्ने विष्णु महतको पनि नाम महासंघको सदस्यमा छ।
अध्यक्ष बरमबहादुर महत र कार्यवाहक सचिव नेपाली उल्लेख गरिएको पत्रमा भएको हस्ताक्षरमा २०७७ भदौ ३१ गते उल्लेख छ। जहाँकी सचिव धनबहादुर बुढा हुँदाहुँदै कार्यवाहक सचिव कसरी नाम उल्लेख भयो? त्यो रहस्य पनि बाहिरिएको छ।
किर्ते सिफारिस पठाइयो
पत्रकार महासंघ जुम्लामा नयाँ सदस्यता पहिलो पटक ४ जना सर्वसम्मत गरेर पठाइएको थियो। पछिल्लो समयमा कार्यसमितिलाई जानकारी नदिई केही व्यक्तिले प्रदेशमा पठाइएका गैरपत्रकारहरुको नाम हटाउन बहुमत कार्यसमितिको बैठक बसेर निवेदन दिएपछि छानबिनपछि पत्रकार नभएका व्यक्तिलाई हटाएर १० जना मात्रै केन्द्रलाई सिफारिस गरिएको पत्रकार महासंघ कर्णालीले बताएको छ।
किर्ते हस्ताक्षर

प्रदेशमा आफ्ना व्यक्ति नपरेपछि केन्द्रमा ६ जनाको हस्ताक्षरमा अर्को चिठी पठाइएको छ। जुन पत्र किर्ते भएको पाइएको छ। हस्ताक्षर गरिएका भनिएका व्यक्तिले नै आफ्नो हस्ताक्षर नभएको प्रतिक्रिया दिएका छन्।
पत्रकार महासंघ उपाध्यक्ष गीता शाही (महतले) आफूले पत्रकारलाई महासंघको सदस्यबाट हटाउन हस्ताक्षर नगरेको बताइन्। उनले भनिन्, ‘बरु गैरपत्रकारलाई हटाउन आवश्यक छ। मैले किन सक्रिय पत्रकारिता गरिरहेका साथीहरुलाई महासंघको सदस्य हुनबाट रोक्छु?’
अर्का सदस्य रतन नेपालीले पनि कुनै साथीहरुलाई महासंघको सदस्यताबाट हटाउन आफूले हस्ताक्षर नगरेको बताए। उनले आफ्नो हस्ताक्षर नै किर्ते गरेको आरोप लगाएका छन्। उनले भने, ‘मेरो हस्ताक्षर किर्ते भएको छ। यस्ता किर्ते हस्ताक्षर गर्नेहरुलाई कानुनी कारबाही गर्नुपर्छ।’










