१४ वर्षीय बालक मृत्यु घटना बारे छानविन गर्न उच्चस्तरीय टोली जुम्लामा


दिलमाया शाही
जुम्ला ः जुम्ला गुठिचौर गाउँपालिका–३ गज्र्यांङकोटका १४ वर्षीय पदम बुढाको मृत्यु भएको घटनाको छानविन गर्न उच्चस्तरीय छानविन टोली जुम्ला पुगेको छ । बुढाको यहि फागुन ५ गते प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै पिडिले नाराजुलुस गरेका थिए । यसको सत्य तत्थ्य छानबिन गरी पिडीतलाई न्याय दिन गृहमन्त्रालयका उपसचिव माधवप्रसाद ढुंगनाको संयोजकत्वमा रहेको छानविन समिति जुम्ला पुगेको हो । समितिमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठ र राष्ट्यि अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी रहेका छन । टोलीले जुम्ला पुगेर छानविनको काम सुरु गरेको छ । छानबिन समितिले पहिलो चरणमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्ले र पत्रकारहरुसंग छलफल गरेको थियो। अनुसन्धान नसकिँदा सम्म टोली जुम्लामै बस्ने प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले बताए ।

त्यस्तै अन्तिम छानविन नहुँदा सम्म टोलीले गहन रुपमा घटनाको सत्य तथ्य छानविन गर्ने समितिका संयोजक माधवप्रसाद ढुंगानाले बताए । उनले भने, ‘छानविन समितिले दोषी पत्ता लगाउँछ । यही गतिमा अनुसन्धान अघि बढ्छ । भइसकेको घटनाको अनुसन्धान निष्पक्ष हुन्छ । उनले भने , वास्तविक पीडितको न्याय र राहतको पक्षमा छानविन समितिले अनुसन्धान केन्द्रीत गर्ने छ ।’
प्रहरी उपरिक्षक श्रेष्ठले घटनाको वस्तु निष्ठा अनुसन्धान हुने बताए । उनले भने, आगामी दिनमा ‘यस्ता खालका दिनमा घटना नहोस । घटेको घटनाको निष्पक्ष अनुसन्धानमा केन्द्रीत हुनेछौँ ।’ छानविन समितिको टोली मंगलबार जुम्ला आउने भनेता पनि जहाज रद्ध भएका कारण आउन सकेको थिएन । प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको विषयलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले गम्भीरता पुर्वक लिएको छ ।

फलस्वरुप गृहन्त्रालयले उच्चस्तरीय छानविन समिति बनेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने, यो छानविन समितिले गहिरो तरिकाले अनुसन्धान गरेर वास्तविक तथ्य बाहिर ल्याउने छ । छानविन टोली जुम्ला पुगेकोले अव निष्पक्ष छानविन हुने अपेक्षा गरिएको छ ।’

यस अघि प्रशासन र पिडितका आफन्तबीच भएको वार्तापछि तत्काल छानविन समिति गठन गर्ने, पिडितलाई राहत उपलब्ध गराउन पहल गर्ने तथा दोषीलाई कार्वाही गर्ने निर्णय भएको थियो । छानविन टोलीले घटना संग जोडिएका सबै पक्ष संग छलफल तथा भेट गर्ने बताएको छ । अनुसन्धानमा कुनै कसुर बाँकी नराख्ने छानविन समितिको प्रतिबद्धता छ ।