खानेपानीको हाहाकार हटाउन व्यूताइयो धौलीगाड खानेपानी आयोजना

दिलमाया शाही
तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जुम्लाले आर्थिक वर्ष ०६६÷६७ देखि धौलीगाड खानेपानी योजना सुरु गरेको थियो  । ०६६ सालमा सुरु गरिएको धौलीगाड बृहत् खानेपानी आयोजना नबनेपछि पुन ः निर्माण कार्य थालनी गरिने भएको छ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पहिलो संविधान सभा २०६४ मा सभासद हुँदा उक्त खानेपानी आयोजनाका लागि तत्कालीन सरकारसँग पहल गरी सुरुवात गरेका थिए । अहिले पनि उनैको पहिलमा निर्माण कार्य थालनी हुने भएको छ ।
मन्त्री भण्डारीले जुम्लामा बुधबार एक बैठक राखेर पुन ः निर्माण कार्य थालनी गर्ने तयारी गरिएको बताए । उनले भने संघीय खानेपानी आयोजनाको कार्यालयले हेर्दै आएको उक्त आयोजना निर्माण गर्नका लागि बैठकमा छलफल भएको छ ।
धौलीगाड बृहत खानेपानी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) एक अर्ब ४७ करोड रुपियाँको बनेको छ । यस आयोजनामा लाभान्वित गाउँ तथा नगरपालिकाले १ प्रतिशत रकम जम्मा गर्नुपर्ने र ९ प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था रहेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने ,कुल लागत बजेको १ प्रतिशत भने एक करोड ४७ लाख रकम लाभान्वित गाउँ तथा नगरपालिकाले रकम जम्मा गरेपनि आयोजना टेण्डरमा जाने अवस्था रहेको छ ।
यो आयोजनाबाट चन्दननाथ नगरपालिका भित्रका ८ वडा, तातोपानी गाउँपालिका भित्रका ६ वडा र गुठीचौर गाउँपालिका भित्रका ३ वडाका नागरिकले पानी खाने पाउने छन ।

अध्यक्ष न्यौपाने भने, लाभान्विड वडाका हिसावमा नगरपालिकाले ६७ लाख, तातोपानीले ५३ लाख र गुठीचौर गाउँपालिकाले २६ लाख ५० हजार नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । उनले. भने ,गाउँ तथा नगरपालिका भित्रबाट एक मुल समिति र तीन उपसमिति गठन गर्नु पर्ने व्यवस्था रहेकोले माघको दोस्रो साताभित्र समिति गठन गरी रकम जम्मा गर्ने तयारी भईरहेको छ ।
त्यस्तै नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने ,धौलीगाड खानेपानी आयोजना सुरु भएको १३ वर्ष भयो । उनले भने ,उहीले नै निर्माण सम्पन्न भएर नागरिकले प्राप्त मात्रमा पानी प्रयोग गरी सक्नु पर्ने हो, तर बनेन । यो दुखत पक्ष हो । यहाँको सदरमुकाम बजार नगरपालिका क्षेत्रभित्र खानेपानीको हाहाकार छ । तै पनि यहाँका जनप्रतिनिधि यो आयोजना प्रति उदासिन छन् । नागरिकलाई खानेपानीको आवश्यक छ । कुनै पनि हालतमा यो आयोजना सम्पन्न भएर नागरिकले स्वच्छ खानेपानी खान पाउनु पर्ने हाम्रो माग रहेको उनले बताए । उनले भने ,यसअघि मुहानमा आठ लाख लागतमा इन्टेक, पाँच लाखको लागतमा मुहानमा पानी संकलन च्याम्बर निर्माण गरिएको छ । त्यसैगरी, सात लाख लागतमा पर्खाल घेराबार निर्माण भएको छ

। हरेक वर्ष उक्त आयोजनाका लागि बजेट आए पनि खर्च नभएर फ्रिज जाने गरेको छ । सरोकारवाला तथा उपभोक्ता समितिले चासो नदिँदा बर्सेनि आयोजनाको नाममा आउने लाखौँ रुपैयाँ फ्रिज हुने गरेको हो । आयोजनाका लागि एक हजार तीन सय मिटर जिआई पाइप प्राप्त भए पनि प्रयोग नगर्दा खानेपानी कार्यालयको खुल्ला चौरमा खिया लागेर नष्ट हुने अवस्थामा पुगेको छ । तत्कालीन खानेपानीमन्त्री प्रेमबहादुर सिंह धौलीगाड खानेपानी आयोजनाका विषयमा जुम्लामै आएर छलफल गरी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता गरे पनि बन्न सकेको छैन ।