निर्माण सम्पन्न भएको १८ महिनापछि अल्कासाँघु मोटरेबल पुल सञ्चालनमा
मुगु: मुगुको छायाँनाथ रारा नगरपालिका–१ अल्कासाँघुस्थित मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको करिब १८ महिनापछि बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
जग्गा मुआब्जासम्बन्धी विवादका कारण लामो समयदेखि पुल सञ्चालनमा आउन सकेको थिएन। सम्बन्धित जग्गाधनी र छायाँनाथ रारा नगरपालिकाबीच सहमति भएपछि पुल सञ्चालनमा ल्याइएको हो।
पुल सञ्चालनमा आएपछि मुगुम कार्मारोङ गाउँपालिका तथा छायाँनाथ रारा नगरपालिका–१०, ११ र १२ का स्थानीयवासीले सुरक्षित, सहज र नियमित रूपमा आवतजावत गर्न पाउने भएका छन्। लामो समयदेखि प्रयोगमा आउन नसकेको पुल सञ्चालनमा आएपछि स्थानीयवासी खुसी भएका छन्।
मुगुम कार्मारोङ गाउँपालिका–६ का सोनाम तोर्चे लामाले पुल सञ्चालनसँगै खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको र अब आवतजावत सहज बनेको बताए।
पुल सञ्चालनका लागि सडक विस्तार तथा आवश्यक पूर्वाधार निर्माणमा नगर प्रमुख विष्णुकुमार भामको नेतृत्वमा जनप्रतिनिधि तथा सुरक्षा निकायले समन्वय गरेका थिए। पुल निर्माण तथा सडक विस्तारका लागि जग्गा उपलब्ध गराउने जग्गाधनी, छायाँनाथ रारा नगरपालिका, वडा नं. १, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पत्रकार, स्थानीयवासी तथा श्रमदान गर्ने सबैको महत्वपूर्ण सहयोग रहेको नगरपालिकाले जनाएको छ।
करिब ८ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको उक्त मोटरेबल पुल सञ्चालनमा आएपछि अब सवारीसाधन निर्वाध रूपमा आवतजावत गर्न सक्ने भएका छन्। साथै, स्थानीयवासीले खोला तरेर यात्रा गर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ।
पुल सञ्चालनमा आएपछि स्थानीयवासीले नगर प्रमुख विष्णुकुमार भामलाई अल्कासाँघुदेखि छायाँनाथ रारा नगरपालिकाको सिमानासम्म विभिन्न स्थानमा वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।
नगर प्रमुख भामले जग्गाधनीसँग सहकार्य गरी पुल सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गर्दै अब मुगु र हुम्ला जिल्लाको सीमावर्ती नाक्चेलाग्नासम्मको सडकमा रहेका पहिरो हटाई अवरुद्ध सडकसमेत क्रमशः सञ्चालनमा ल्याइने विश्वास स्थानीयवासीलाई दिलाएका छन्।








