दोमुखमा बेलीब्रिज बन्ने निश्चित, मुगु–हुम्ला आवतजावत सहज हुने
मुगु: मुगु र हुम्लालाई जोड्ने कर्णाली नदीमाथि सोरु गाउँपालिका १० र ११ अन्तर्गत पर्ने दोमुख–सिनेखर्क क्षेत्रमा बेलीब्रिज निर्माण हुने निश्चित भएको छ। लामो समयदेखि मोटरेबल पुल निर्माण अलपत्र परिरहेका बेला तत्कालका लागि बेलीब्रिज जडान प्रक्रिया अघि बढेसँगै स्थानीयवासीमा उत्साह छाएको छ।
सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको पहलमा बेलीब्रिज जडानका लागि आवश्यक संरचना निर्माण, जडान तथा ढुवानी खर्च गाउँपालिकाले नै व्यहोर्ने प्रतिबद्धतासहित सडक विभाग, चाकुपाट ललितपुरमा प्रस्ताव पेश गरिएको थियो। त्यसपछि कर्णाली प्रदेश सरकार तथा सम्बन्धित निकायको समन्वयमा हुम्लाको खार्पुनाथ गाउँपालिका अन्तर्गत चुवाखोलामा रहेको कर्णाली नदीको बेलीब्रिज दोमुखमा स्थानान्तरण गर्ने विषयमा २०८३ साउन १४ गते सहमति भएको जनाइएको छ।
बेलीब्रिज निर्माण भएपछि सोरु गाउँपालिकाको धैन क्षेत्र, हुम्लाको अदानचुली गाउँपालिका तथा कर्णाली करिडोरसँग जोडिएका बस्तीका नागरिकको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। वर्षायाममा नदीका कारण शिक्षा, स्वास्थ्य, व्यापार, आपत्कालीन सेवा तथा दैनिक आवागमनमा हुने समस्या पनि उल्लेखनीय रूपमा कम हुने विश्वास गरिएको छ।
स्थानीयका अनुसार बेलीब्रिज सञ्चालनमा आएपछि कर्णाली करिडोर हुँदै रारा पुग्ने छोटो मार्ग थप सहज बन्नेछ। यसबाट आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्नुका साथै स्थानीय आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
लामो समयदेखि प्रतिक्षामा रहेको दोमुख मोटरेबल पुल निर्माण कार्य अलपत्र परिरहेका बेला तत्काल नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले बेलीब्रिज निर्माणको निर्णय गरिएको हो। सडक विभागले बेलीब्रिज उपलब्ध गराउने तथा आवश्यक संरचना निर्माण र जडानको खर्च सोरु गाउँपालिकाले व्यहोर्ने सहमति भएको जनाइएको छ।
यस निर्णयप्रति स्थानीयवासीले सोरु गाउँपालिका, सडक विभाग, पूर्वाधार विकास कार्यालय मुगु, जिल्ला समन्वय समिति मुगु, कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चारकर्मी तथा यस विषयमा निरन्तर आवाज उठाउँदै आएका सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्। स्थानीयले बेलीब्रिज निर्माणले मुगु र हुम्लाका हजारौँ नागरिकको दैनिक जीवन सहज बनाउने विश्वास व्यक्त गरेका छन्।










