जुम्लाको स्याउको पहिचान जोगाउन चन्दननाथ सहकारीको अभियान
जुम्ला:जुम्लाको अर्गानिक तथा प्रसिद्ध स्याउको गुणस्तर, पहिचान र दीर्घकालीन बजार व्यवस्थापनको प्राथमिकतामा राख्दै चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जुम्लाले स्याउ खरिद तथा विविध विषयमा छलफल एवं पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम सहकारीको कार्यालय राजासिममा आयोजना गरिएको हो।
कार्यक्रममा सहकारीकी अध्यक्ष विष्णुमाया बुढाले किसानलाई हल्लाको पछि लागेर अपरिपक्व (काँचो) स्याउ नटिप्न आग्रह गर्दै गुणस्तरीय उत्पादनले मात्रै जुम्लाको स्याउको पहिचान र बजार दुवै सुरक्षित रहने बताइन्।
उनले भनिन्, “बजारमा पछि मूल्य घट्छ, बाटो बन्द हुन्छ भन्ने त्रासका कारण काँचो स्याउ टिप्ने प्रवृत्ति बढेको छ। यसले जुम्लाको स्याउको गुणस्तर र पहिचानमा गम्भीर असर पार्छ। किसान ढुक्क भएर पाकेको, गुणस्तरीय स्याउ उत्पादन गर्नुस्, बजारको जिम्मा यश पटक देखि सहकारीले लिन्छ।उनका अनुसार सहकारीले किसानबाट खरिद गरिएको स्याउको भुक्तानी तत्काल गर्ने व्यवस्था मिलाएको छ। किसानले रकमका लागि कुर्नुपर्ने अवस्था नआउने र सम्भव भएसम्म बजार मूल्यभन्दा प्रतिकिलो एकदेखि दुई रुपैयाँसम्म बढी मूल्य उपलब्ध गराइने उनले जानकारी दिइन्।
जिल्लाका विभिन्न पालिकामा उत्पादन हुने स्याउको पहिचान सुरक्षित गर्न सम्बन्धित स्थानीय तहको लोगो अंकित कार्टुन (प्याकेजिङ) तयार गरिएको उनले बताइन्। उत्पादन क्षमता र बजारको मागलाई ध्यानमा राख्दै केही स्याउ कोल्ड स्टोरमा भण्डारण गरी वर्षभरि बजार व्यवस्थापन गर्ने योजना समेत रहेको छ।भने, सहकारीले (UNDP) अन्तरगत ReRAS परियोजनाको सहयोगमा काटुन लगायतका प्याकेजिङ सामग्री प्राप्त गरिसकेको र यस वर्ष पनि किसानबाट स्याउ खरिद गर्न सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बजारको चिन्ता नगरी गुणस्तरीय उत्पादनमा ध्यान दिन सहकारीले किसानलाई आग्रह गरेको छ।
त्यस्तै सञ्चालक समिति सदस्य हरिशरण न्यौपानेले अब स्याउ मात्र नभई जुम्लामा उत्पादन हुने अन्य कृषि उपज पनि सहकारीमार्फत खरिद गरिने जानकारी दिए।।उनले विगत चार वर्षदेखि जुम्लाको स्याउको मूल्यमा उल्लेखनीय वृद्धि हुन नसकेको उल्लेख गर्दै सहकारीको प्रत्यक्ष खरिद प्रणालीले किसानलाई उचित मूल्य दिलाउने र बिचौलियाको प्रभाव न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे।
हामी किसानसँग उधारो कारोबार गर्दैनौं। किसानकै बगैंचामा पुगेर स्याउ ग्रेडिङ गरी तत्काल भुक्तानी गर्छौं। स्थानीय तहको लोगो सहितको प्याकेजिङमार्फत जुम्लाको पहिचान र गुणस्तरलाई राष्ट्रिय बजारमा स्थापित गर्ने हाम्रो लक्ष्य हो,” न्यौपानेले भने।
सहकारीका अनुसार गुणस्तरीय उत्पादन, वैज्ञानिक ग्रेडिङ, आधुनिक प्याकेजिङ, कोल्ड स्टोरको प्रभावकारी उपयोग तथा प्रत्यक्ष खरिद प्रणालीमार्फत जुम्लाको स्याउको दीर्घकालीन बजार सुनिश्चित गर्ने रणनीति अघि बढाइएको छ।
स्थानीय किसानलाई उचित मूल्य, उपभोक्तालाई गुणस्तरीय स्याउ तथा जुम्लाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने दिशामा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको यो पहल महत्वपूर्ण कदमका रूपमा हुने अपेक्षा गरिएको छ।








