गरिबीको पीडा :तीन सन्तान सहित सडकको संघारमा मुगुकी सरस्वती

जुम्ला : गरिबी, अशिक्षा र सामाजिक असुरक्षाले मानिसको जीवनलाई कति कठिन बनाउँछ भन्ने एउटा मार्मिक उदाहरण बनेकी छन् मुगुको छायाँनाथ रारा नगरपालिका–११, रोबा गाउँ बताउने २३ वर्षीया सरस्वती परियार। आज उनी आफ्ना तीन साना सन्तानसहित जुम्ला बजारमा साहारा खोज्दै भौतारिन बाध्य भएकी छन्।
हाल उनी जुम्ला बजारको भारतीवाडामा एक व्यक्तिको घरको सानो कोठा भाडामा लिएर बसेकी छन्। तर त्यो बसाइ पनि केवल नाममात्रको छ। कोठाभित्र न ओढ्ने–ओछ्याउने पर्याप्त कपडा छ, न खाना पकाउने भाँडाकुँडा। चिसो भुइँमै आफ्ना साना बालबालिकालाई राखेर दिन काट्नुपरेको छ।सरस्वतीसँग अन्दाजी १६ वर्षका देखिने एक बालक, चार वर्षको एक बालक र एक दुधे शिशु छन्। उनीहरू सबैको अवस्था निकै दयनीय छ। बालबालिकाले सुरक्षित आवास, पर्याप्त पोषण र आवश्यक हेरचाह पाउनुपर्ने उमेरमा अभाव र अनिश्चिततासँग संघर्ष गरिरहेका छन्।
सरस्वतीका अनुसार उनका श्रीमान् जस्कर परियार हाल बलात्कार आरोपसम्बन्धी मुद्दामा जुम्ला कारागारमा छन्। श्रीमानकी पहिलो श्रीमतीको मृत्यु भइसकेको छ। पहिलो श्रीमतीबाट जन्मिएका पाँच सन्तानमध्ये चार जना काठमाडौंतर्फ अध्ययनका लागि लगिएको बताइन्छ। एक छोरा तथा आफ्नै दुई सन्तानसहित सरस्वती अहिले जुम्लामा जीवन धान्ने संघर्षमा छिन्।
दैनिक गुजाराको लागि उनी हाल जुम्लास्थित भ्याली भ्यु प्रतिष्ठान परिसरभित्र रहेको क्यान्टिनमा काम गर्न थालेकी छन्। तर त्यो कामले मात्र तीन सन्तानसहितको परिवारको सम्पूर्ण आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन। यो केवल एक महिलाको व्यक्तिगत पीडाको कथा होइन, यो गरिबी, अशिक्षा, बेरोजगारी र सामाजिक संरक्षणको कमजोर अवस्थाले सिर्जना गरेको यथार्थ चित्र हो। जब राज्यका सेवा र अवसरहरू कमजोर वर्गसम्म पुग्न सक्दैनन्, तब यस्तै सयौँ सरस्वतीहरू आफ्ना निर्दोष बालबालिकासहित सडकको संघारमा पुग्न बाध्य हुन्छन्।
त्यस्तै दिमा आमा घरकी अध्यक्ष दिलमाया शाहीका अनुसार सरस्वती र उनका बालबालिकाको व्यवस्थापन तथा संरक्षणका लागि जुम्लाका सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरिनेछ ।उनले भनिन्,“सबैभन्दा पहिले आमा र बालबालिकाले खाना, सुरक्षित बसोबास र आधारभूत आवश्यकताहरू पाउनुपर्छ। उनीहरूको जीवनरक्षा र सम्मानजनक जीवनयापनको ग्यारेन्टी हुनु आवश्यक छ।उनका अनुसार सरस्वतीको स्थायी ठेगाना रहेको वडा कार्यालय र स्थानीय तहले पहिलो जिम्मेवारी लिनुपथ्र्यो। तर उनी अहिले जुम्लामा आइसकेको अवस्थामा मानवताको आधारमा सबैले सहयोग र सहकार्य गर्नुपर्ने आवश्यकता रहेको छ।
आज प्रश्न केवल सरस्वतीको होइन। प्रश्न ती निर्दोष बालबालिकाको भविष्यको हो, जसले जन्मसँगै अभाव, पीडा र असुरक्षाको सामना गर्न बाध्य भएका छन्। उनीहरूलाई भोजन, शिक्षा, स्वास्थ्य र सुरक्षित वातावरण उपलब्ध गराउनु समाज, स्थानीय सरकार र सम्बन्धित निकाय सबैको साझा दायित्व हो।
यदि समयमै आवश्यक सहयोग र संरक्षण उपलब्ध गराउन सकियो भने ती बालबालिकाको भविष्य सुरक्षित बन्न सक्छ। अन्यथा गरिबीको यो चक्र फेरि अर्को पुस्तामा दोहोरिने खतरा रहन्छ।मानवताभन्दा ठूलो धर्म कुनै छैन। आज सरस्वती र उनका बालबालिकालाई आवश्यक छ,दया होइन, सम्मानपूर्वक बाँच्न पाउने अवसर र जीवनप्रतिको भरोसा।







