जुम्लामा नेपाल ग्यास पसलबाटै वितरण
जुम्ला : जुम्लामा ग्यास वितरणका क्रममा उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने समस्या अन्त्य गर्न नेपाल ग्यासका डिलरसँग समन्वय गरी पसलबाटै ग्यास वितरण गर्ने व्यवस्था गरिएको छ।
लगन स्टोर एण्ड सप्लायर्सले जुम्लाका विभिन्न स्थानमा रहेका पसल तथा डिलरमार्फत ग्यास वितरणको व्यवस्था मिलाएको जनाएको छ। ग्यास लिनका लागि उपभोक्ताले घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै पसलबाटै सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको हो।
जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले भेरी नेपाल ग्यासका डिलरसँग समन्वय गरी लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै पसलबाटै ग्यास वितरण गर्ने व्यवस्था मिलाइएको बताए।
प्रमुख जिल्ला अधिकारी प्रसाईंका अनुसार अहिले जुम्लामा ग्यासको अभाव नरहेको र नियमित रूपमा ग्यास आइरहेको छ। उनले उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा बस्नुपर्ने अवस्था नआउने गरी सहज वितरणमा जोड दिइएको बताए।
जुम्लामा ग्यास वितरणका लागि सूर्य स्टोर, प्रिन्स जनरल हाउस, विधान स्टोर, आयुषा जनरल स्टोर, बी.एन.सी. स्टोर, उपेन्द्र स्टोर, नरेन्द्र रावल, स्वस्तिका जनरल स्टोर, लामाविष्णु जनरल स्टोर, विन्देश्वर जनरल स्टोर, टी.एस.के. जनरल स्टोर, श्रेष्ठ भाँडा पसल, सोदेस्मान्द जनरल स्टोर, मनकामना स्टोर, जमुना जनरल हाउस, सुजन एण्ड सैलेन्द्र जनरल स्टोर, कणेन्द्र जनरल हाउस, पदम पोखरेल लगायतका पसल तथा डिलरसँग समन्वय गरिएको छ।
प्रशासनले ग्यासको नियमित आपूर्ति र सहज वितरणमा समस्या नहोस् भन्नका लागि सम्बन्धित डिलर तथा व्यवसायीसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।









