भेरी ग्यास वितरणका लागि क्षेत्र तोकियो

जुम्ला ।जुम्लामा खाना पकाउने भेरी ग्यासको वितरणलाई व्यवस्थित, सहज र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित सरोकारवालाले क्षेत्रअनुसार ग्यास वितरणको जिम्मेवारी तोक्ने निर्णय गरेका छन्।

लामो समयदेखि ग्यास लिन उपभोक्ताले घण्टौँसम्म लाइन बस्नुपर्ने, सीमित व्यक्तिले धेरै सिलिन्डर लैजाने तथा वितरणमा अनियमितता भएको गुनासो बढेपछि प्रशासन, स्थानीय सरोकारवाला तथा सम्बन्धित पक्षको समन्वयमा ग्यास वितरणलाई व्यवस्थित गर्ने निर्णय गरिएको हो।

निर्णयअनुसार विभिन्न क्षेत्रको ग्यास वितरण तथा व्यवस्थापनमा ,प्रेम बुढा, धर्मेन्द्र बुढा, चन्द्र बुढा, हरिचन्द्र बुढा, बिना श्रेष्ठ, पद्मा गडारी, डिल्ली श्रेष्ठ, नन्दराज बुढा, मेघराज देवकोटा, डिल्लीप्रसाद पाण्डे र आकाश बुढ्यापा,लगायतलाई जिम्मेवारी तोकिएको हस्तलिखित निर्णयमा उल्लेख छ।

बजार तथा अस्पताल क्षेत्रलगायत विभिन्न स्थानमा उपभोक्तालाई सहज हुने गरी ग्यास वितरण गर्ने व्यवस्था मिलाउने निर्णय भएको जनाइएको छ। यसबाट ग्यास लिनका लागि बिहानैदेखि सडकमा लाइन बस्नुपर्ने बाध्यता हट्ने र वितरण प्रणाली थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रशासन तथा सरोकारवालाले ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिने, वास्तविक उपभोक्तालाई प्राथमिकता दिने र वितरण प्रक्रियालाई पारदर्शी बनाउने विषयमा समेत ध्यान दिनुपर्ने बताएका छन्।

उपभोक्ताले भने ग्यास वितरणको निर्णय कागजमै सीमित नराखी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन्। एकै व्यक्तिले धेरै सिलिन्डर लैजाने अवस्था अन्त्य गर्दै घरायसी उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

ग्यास वितरणमा देखिएको समस्या समाधान गर्न प्रशासन, ग्यास व्यवसायी, स्थानीय तह तथा अन्य सरोकारवाला निकायबीच निरन्तर समन्वय आवश्यक देखिएको छ।

सम्बन्धित समाचार