ध्यान छोडेर जीवन बचाउन दौडिए डा. निलम खड्का: जुम्लामा न्युरो सेवा अभावले अझै कति ज्यान जोखिममा ?

जुम्ला :जुम्लाको दुर्गम भूगोल, सीमित स्रोतसाधन र कमजोर पहुँचबीच जीवन र मृत्युको लडाइँ लडिरहेका बिरामीहरूको कथा केवल समाचार होइन।यो राज्यको स्वास्थ्य प्रणालीले अझै पूरा गर्न नसकेको दायित्वको पीडादायी चित्र हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला जहाँ हजारौं नागरिक आशा बोकेर उपचारका लागि पुग्छन्।त्यहीँ न्युरो सम्बन्धी विशेषज्ञ डाक्टरको अभाव छ। न्युरोसर्जन नहुँदा आवश्यक उपकरणसमेत पठाइँदैनन्, र टाउकोसम्बन्धी गम्भीर बिरामी आए भने उपचार भन्दा पहिले “रिफर” गर्ने निर्णय लिनुपर्ने बाध्यता छ। तर, रिफर गर्नु मात्र समाधान होइन,त्यसपछि सुरु हुन्छ अर्को संघर्ष। कहिले मौसम बिग्रिन्छ, जहाज उड्दैन; कहिले टिकट पाइँदैन; र धेरैजसो अवस्थामा बिरामीका आफन्तसँग काठमाडौं वा अन्य ठाउँसम्म लैजाने आर्थिक सामर्थ्य हुँदैन। त्यसरी धेरै जीवनहरू उपचार नपाई, केवल प्रतीक्षामै हराइरहेका छन्।

यही कठोर यथार्थबीच पातारासी गाउँपालिका–३ का गोरबहादुर बोहराको घटना एउटा मार्मिक उदाहरण बनेर उभिएको छ। छतबाट खसेर गम्भीर टाउको चोट लागेका बोहरा बेहोस अवस्थामा प्रतिष्ठान ल्याइए। भेन्टिलेटरमा राखिएका उनलाई बचाउन तत्काल न्युरोसर्जरी आवश्यक थियो। तर प्रतिष्ठानमा त्यस्तो सेवा उपलब्ध थिएन। रिफर गर्ने तयारी भयो, तर मौसमले साथ दिएन जहाज उडेन। परिवार निराशा र पीडाबीच छटपटाइरहेको थियो।
त्यही बेला डाक्टर निलम खड्का जुम्ला आउनु भएकाे छ भन्ने सुनेर एउटा आशाको किरण झुल्कियो।वरिष्ठ न्युरोसर्जन डा. निलम खड्का, जो आफ्नै व्यक्तिगत कामका लागि जुम्लाको गुठिचौरस्थित विपश्यना केन्द्रमा ध्यानमा रहनु भएको थियो। उहाँलाई बिरामीको जीवन बचाइदिन आग्रह गर्न आफन्तहरू त्यहाँ पुगे। पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकाया र समाजसेवी जयशंकर धिताल सहितको टोलीले गरेको आग्रहलाई मानवताको आवाज ठानेर डा. खड्काले आफ्नो ध्यान स्थगित गर्नुभयो र तुरुन्तै जुम्ला सदरमुकाममा रहेकाे प्रतिष्ठानमा फर्कनुभयो।

सिमित उपकरण, चुनौतीपूर्ण अवस्थामा पनि अटल समर्पण र
छ घण्टाको कठिन शल्यक्रियापछि बोहराको टाउकोमा जमेको रगत निकालियो। जीवन र मृत्युको दोसाँधमा उभिएका बाेहाेरालाई नयाँ जीवन दिइयो।

डा. खड्काले भन्नुभयो“हामीले यहाँ आँखा रसाएर, उपकरणको अभावबीच शल्यक्रिया गर्यौं। तपाईंहरूले कलम चलाउनुस् यहाँ न्युरो डाक्टर र आवश्यक उपकरण अत्यावश्यक छ।

यो केवल एउटा शल्यक्रियाको कथा होइन, यो मानवता, दायित्व र समर्पणको उदाहरण हो।
प्रोफेसर डा. निलम खड्काको योगदानले एउटा जीवन बचायो, तर यसले एउटा गहिरो प्रश्न पनि उठायो।कति जीवन अझै यस्तै अभावका कारण गुम्नुपर्ने?
प्रतिष्ठानका शल्यक्रिया विभाग प्रमुख डा. निर्मल थापाले समेतले भन्नू भयाे ।न्युरोसर्जनको अभावका कारण धेरै बिरामी रिफर गर्नुपर्छ। संयोगवश डा. खड्का जुम्लामा भएकै कारण यो शल्यक्रिया सम्भव भयो। तर, सधैं यस्तो संयोग कहाँ मिल्छ?

बिरामीका छोरा दिपराज बोहराका आँखा अझै रसाइरहेका छन्।“जहाज आएन, काठमाडौं लैजाने पैसा थिएन …. डाक्टर निलमले बाबाको जीवन बचाइदिनुभयो।”

उनका शब्दहरू केवल कृतज्ञता होइनन्, ती कर्णालीका हजारौं आवाजहरूको प्रतिनिधित्व हुन्।

आज आवश्यकता केवल धन्यवादको होइन।दृढ पहलको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी रूपमा न्युरोसर्जन नियुक्त गरिनुपर्छ, आवश्यक उपकरणहरू उपलब्ध गराइनुपर्छ, र दुर्गम क्षेत्रका नागरिकहरूले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिनुपर्छ।

डा. निलम खड्काजस्ता समर्पित चिकित्सकहरूका कारण अझै आशा बाँचेको छ। तर राज्यले आफ्नो दायित्व पूरा नगरेसम्म, यस्ता कथाहरू दोहोरिरहनेछन।कहिले सुखद अन्त्यसहित, त कहिले अपूरो पीडासँगै।यो केवल एउटा बिरामीको कथा होइन।यो कर्णालीको आवाज हो, जसलाई अब राज्यले बेवास्ता गर्न मिल्दैन।
त्यस्तै पछिल्ला ३-४ वर्षदेखि न्युरो सेवा ठप्पजस्तै रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थानीयवासीले विशेषज्ञ सेवा सुरु गर्न माग गर्दै आएका छन्। दुर्गम क्षेत्रका नागरिकहरू न्युराेकाे सामान्य उपचार नपाएर ज्यान गुमाउन बाध्य हुनु दुःखद यथार्थ बनेको छ।

त्यस्तै डाक्टर निमल खड्काको मानवीय कार्यप्रति आभार व्यक्त गर्न राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य सहितको टोली अस्पताल पुगेको थियो।डा. निलम खड्काको यो कदमले एक जीवन मात्र होइन, समग्र स्वास्थ्य प्रणालीप्रति प्रश्न पनि उठाएको छ।
“के कर्णालीका नागरिकले समयमै विशेषज्ञ उपचार पाउने अधिकार राज्यले कहिले सुनिश्चित गर्छ भन्ने हाे ।