जुम्लामा सातदिने योग–ध्यान शिविर सम्पन्न (फाेटाेफिचर)
जुम्ला : चन्दननाथ योग साधना केन्द्रको आयोजना तथा चन्दननाथ नगरपालिकाको समन्वयमा, आयुर्वेद स्वास्थ्य सेवा केन्द्र जुम्लाको सहजिकरणमा सञ्चालन गरिएको सातदिने योग तथा ध्यान शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालित उक्त कार्यक्रममा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
शिविर अवधिभर सहभागीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो। जसअन्तर्गत प्रेसर, सुगर, हाइट तथा तौल जाँचका साथै स्वस्थ जीवनशैलीसम्बन्धी परामर्श दिइएको थियो। “उचित आहार, उचित विहार र उचित विचार” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै जीवनशैली व्यवस्थापन, सर्वाङ्ग शुद्धीकरण तथा शरीर शुद्धिकरणका विविध अभ्यासबारे जानकारी गराइएको थियो।
संस्थापक तथा योग गुरु नन्द प्रसाद न्यौपानेका अनुसार शिविरमा करिब एक सयभन्दा बढी सहभागीको उपस्थिति रहेको थियो। उनले योगलाई शरीर, मन र आत्मालाई सन्तुलित बनाउने प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै नियमित अभ्यासले दीर्घकालीन स्वास्थ्य लाभ दिने बताए।
याेग गरू न्यौपानेका अनुसार योग प्राचीन अभ्यास हो, जसले शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्न मद्दत गर्छ। यसमा आसन (शारीरिक व्यायाम), प्राणायाम (श्वास प्रश्वास नियन्त्रण) र ध्यान (मेडिटेसन) समावेश हुन्छन्।उनले भने,योग स्वास्थ्य सुधार, मानसिक शान्ति, तनाव नियन्त्रण र जीवनशैली सन्तुलनका लागि गरिन्छ। यसले मानिसलाई शारीरिक रूपमा तन्दुरुस्त र मानसिक रूपमा सशक्त बनाउँने उनी बताउछन ।
नियमित रुपमा योग गरेकाे खण्डमा मानसिक तनाव र चिन्ता कम गर्छ रक्तचाप र मधुमेह नियन्त्रणमा सहयोग पुर्याउँछ पाचन प्रणाली सुधार गर्छ निद्रा राम्रो बनाउँने उनकाे भनाइ छ ।

पछिल्लो समयमा योग आजको व्यस्त जीवनशैलीमा स्वस्थ र सन्तुलित जीवन जिउन अत्यन्त उपयोगी अभ्यासका रूपमा स्थापित हुँदै गएको छ। जुम्लामा याे कार्यक्रमले स्थानीयस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।
त्यस्तै, चन्दननाथ योग साधना केन्द्रकी अध्यक्ष जानदेवी कठायतले विगत एक वर्षदेखि निरन्तर योग अभ्यास गर्दै आएको जानकारी दिँदै जुम्लामा पछिल्लो समय योगप्रति चासो र सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको बताइन्।याे कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ–संस्थालाई प्रशंसा पत्र मार्फत सम्मान गरिएको थियो।











