शिखर इन्स्योरेन्समा लगाइएको ताला खुल्यो, तीन महिना भित्र बीमा रकम भुक्तानी गर्ने सहमति

जुम्ला:जुम्लामा स्याउ बीमा भुक्तानीलगायत विभिन्न माग राख्दै शिखर इन्स्योरेन्समा लगाइएको ताला खुलाइएको छ। चन्दननाथ नगरपालिकाका स्याउ किसानसँग सहमति भएपछि ताला खोलिएको हो।

स्याउ बीमाको भुक्तानीमा ढिलाइ भएको भन्दै चन्दननाथ नगरपालिकाका किसानहरूले गत माघ १५ गते शिखर इन्स्योरेन्सको कार्यालयमा तालाबन्दी गरेका थिए। किसानका मागलाई मध्यनजर गर्दै जिल्ला स्तरमा किसान, शिखर इन्स्योरेन्स तथा सरोकारवाला निकायबीच छलफल भई सहमति र निर्णय भएपछि ताला खोलिएको हो।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको रोहबरमा, किसान संखु खत्रीको अगुवाइमा भएको वार्तामा सहभागी पक्षबीच छलफल गरी सहमति जुटेको हो।

सहमतिअनुसार स्याउ बीमा गराएका तर भुक्तानी पाउन बाँकी किसानलाई छिटो भुक्तानी दिने, चन्दननाथ नगरपालिकाका बीमित किसानले पाउनुपर्ने बीमा रकम र अनुदानसहित प्रतिकिसान ७२ हजार ८ सय रुपैयाँ भुक्तानी हुने गरी तत्काल प्रक्रिया पूरा गर्ने निर्णय गरिएको छ।

त्यस्तै, जुम्ला जिल्लाभरि बीमा भुक्तानी बाँकी रहेका किसानको माग तीन महिनाभित्र पूरा गर्ने, प्रक्रिया नपुगेका फाइल तत्काल पूरा गरी शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा पठाउने, आवश्यक थप जनशक्ति परिचालनका लागि गाउँपालिका तथा नगरपालिकासँग समन्वय गर्ने निर्णय गरिएको छ।

साथै, २०८२/०८३ आर्थिक वर्षका सम्पूर्ण कृषकलाई बीमा सम्बन्धी जानकारी दिने तथा बीमा प्रक्रिया अगाडि बढाउने सहमति पनि गरिएको छ।