तिला६ का युवाद्वारा उम्मेदवार भण्डारी समक्ष विकास योजना सहित मागपत्र पेस

जुम्ला : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तिला गाउँपालिका वडा नं. ६ का युवाहरूले विकाससम्बन्धी मागसहित प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेश भण्डारीसमक्ष मागपत्र पेस गरेका छन्।

जुम्लाको विकासका लागि निस्वार्थ रूपमा योगदान गर्दै आउनु भएका भण्डारीप्रति आभार व्यक्त गर्दै युवाहरूले निर्वाचनको अग्रिम शुभकामना समेत दिएका छन्। तिला–६ को विकट बस्ती आर्थिक तथा भौतिक विकासका दृष्टिले पछाडि परेकाले कुनै व्यक्तिगत स्वार्थ नराखी सामूहिक आवश्यकता पहिचान गरी मागपत्र बुझाइएको युवाहरूले बताएका छन्।

मागपत्रमा तिला–६ क्षेत्रमा तत्काल आवश्यक आठ बुँदे विकास योजनाहरू समेटिएका छन्। भौगोलिक कठिनाइका कारण जमिन माथि र पानी खोला तल परेकाले आधुनिक वैकल्पिक सिँचाइ प्रणालीको व्यवस्था गर्न माग गरिएको छ। त्यस्तै, घोडे गाउँमा प्रशस्त मात्रामा पाइने धुपीबाट कच्चा पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्नुपर्ने माग पनि गरिएको छ।

युवाहरूले घोडे महादेव लगायतका देवीदेवता अवस्थित पाटन क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास, संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। साथै, हाल खस भाषाको अध्ययन प्रभावकारी हुन नसकेको भन्दै खस भाषाका पाठ्यपुस्तकको व्यवस्था गर्न माग गरिएको छ।

यसैगरी, विषादीरहित फलफूल, तरकारी तथा स्थानीय कृषि उत्पादनको व्यवस्थित बजारीकरण, आधुनिक डिजिटल शिक्षाको प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ। रारालिहीबाट तिला–६ सम्म वर्षायाममा पठनपाठन गर्न आउन–जान समस्या हुने स्थानहरूमा पक्की पुल, नाली, ग्राभेल तथा कालोपत्रे सडकको मर्मत आवश्यक रहेको मागपत्रमा उल्लेख गरिएको छ।

त्यसैगरी, तिला–६ का सम्पूर्ण विद्यालयमा शिक्षक दरबन्दीको व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक सुधार गर्नुपर्ने माग समेत मागपत्रमा समेटिएको छ।

मागपत्र पेस गर्दै युवाहरूले भने, “हामी कुनै पार्टीका होइनौँ। हामीलाई भोट तपाईंलाई नै दिने हो, विकास पनि तपाईंले नै गरिदिनुहोस्।

युवाहरूको सामूहिक आवाजले स्थानीय आवश्यकता र विकासप्रतिको अपेक्षा स्पष्ट रूपमा प्रस्तुत गरेको छ। जुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका नरेश भण्डारीले मागपत्र बुझ्दै यसअघि पनि उक्त गाउँलाई उज्यालो बनाउने उद्देश्यले विद्युत् विस्तारको काम गरिएको स्मरण गराउँदै बाँकी विकासका कामहरू निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले युवाहरूका लागि शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत विकासका क्षेत्रमा सधैँ लागिरहने पनि बताए।

सम्बन्धित समाचार