जुम्लामा नरेश भण्डारीको घरदैलो अभियान : विकासका सपना बोकेर जनतासँग संवाद गर्दै

जुम्ला : नेपाली कम्युनिष्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि जुम्लाबाट उम्मेदवारी दिएका नरेश भण्डारी यतिबेला घरदैलो अभियानमा सक्रिय देखिएका छन्। उनले आफ्नो घरदैलो अभियान जुम्ला सदरमुकाम खलंगाबाट औपचारिक रूपमा सुरु गरेका हुन्।

जनतासँग प्रत्यक्ष भेटघाट, संवाद र सुझाव संकलनलाई प्राथमिकता दिँदै अघि बढाइएको यो अभियानलाई भण्डारीले राजनीतिक औपचारिकता होइन, जनताको दैनिकी बुझ्ने अभियानको रूपमा परिभाषित गरेका छन्। खलंगाका गल्ली–गल्ली, टोल–टोलमा पुगेर उनले स्थानीयबासीका समस्या, अपेक्षा र सम्भावनाबारे चासोपूर्वक सुन्दै आएका छन्।

विकासप्रेमी नेताका रूपमा परिचित भण्डारी जुम्लाको दीर्घकालीन विकासका सवालमा स्पष्ट दृष्टिकोण राख्ने नेतामध्ये एक मानिन्छन्। सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र कृषिलाई जुम्लाको समृद्धिको मुख्य आधार ठान्दै उनले विगतमा सुरु भएका विकास योजनालाई निरन्तरता र नयाँ सम्भावनाको खोजी आफ्नो प्राथमिकता हुने बताएका छन्।

घरदैलोका क्रममा भण्डारीले “जुम्लाको विकास कागजमा होइन, कानुनमै देखिनुपर्छ” भन्ने धारणा व्यक्त गर्दै जनताको साथ र विश्वासकै बलमा परिवर्तन सम्भव हुने उल्लेख गरेका छन्। स्थानीयबासीसँगको आत्मीय संवाद, सरल व्यवहार र विकासप्रतिको प्रतिबद्धताले अभियानमा उत्साह थपिएको देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार नरेश भण्डारीको घरदैलो अभियानले चुनावी प्रचारभन्दा बढी विश्वास निर्माण र जनसम्पर्कलाई केन्द्रमा राखेको छ। यसले जुम्लामा निर्वाचन माहोललाई थप सक्रिय बनाउनुका साथै प्रतिस्पर्धालाई समेत रोचक बनाएको छ। भण्डारी जुम्लाबाट विभिन्न राजनीतिक दलले उठाएका उम्मेदवारहरूमध्ये विकासप्रेमी, स्वच्छ छवि र बलिया उम्मेदवारका रूपमा परिचित छन्।

सम्बन्धित समाचार