जुम्लामा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जुम्ला : जुम्ला जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ। जिल्ला अदालत जुम्लाको कार्यालय हाताभित्र स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत आनन्द राज पन्तले गर्नुभएको हो।
निर्वाचन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र कडेलका अनुसार जिल्लामा ७१ हजार ७ सय ३९ मतदाता रहेका छन्। ती मतदाताका लागि ८५ मतदान स्थलमा १ सय १० मतदान केन्द्र तोकिएका छन्। यसमध्ये २ वटा अस्थायी मतदान स्थल र २ वटा अस्थायी मतदान केन्द्र रहेका छन्।
मुख्य निर्वाचन अधिकृत पन्तले प्रतिनिधि सभा सदस्य निर्वाचनमा एउटा समानुपातिक र अर्को प्रत्यक्ष प्रणाली अन्तर्गत निर्वाचन हुने जानकारी दिनुभयो। उहाँले लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएको उल्लेख गर्दै निर्वाचन भयरहित,निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिनुभयो।
“नागरिकले सहज रूपमा मतदान गर्न सक्ने वातावरण तयार गर्नु सबैको साझा दायित्व हो,” उहाँले भन्नुभयो, “निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन हुनुपर्छ, उल्लङ्घन भए कानुनी कारबाही हुन्छ।”
जिल्ला अदालत जुम्लाका श्रेस्तेदार देवेन्द्र ढकालले आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो। साथै, मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन कार्यक्रमसम्बन्धी तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्तादेखि मतदानसम्मका सबै चरणहरू तय गरिएका छन्।
२०८२ फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने जनाइएको छ।प्रचार–प्रसार निषेध अवधि भने फागुन १८ गते राति १२ बजेदेखि लागू हुने छ।
महत्वपूर्ण निर्णयहरू
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गर्न विभिन्न निर्णयहरू पारित गरिएका छन्।
निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने, शान्तिपूर्ण र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता सबै सरोकारवालाले व्यक्त गरेका छन्।सबै मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि निर्वाचन अधिकृतले मतगणना कार्य सुरु गर्ने जनाइएको छ।








