जुम्ला बहुमुखी क्याम्पमा संकाय थप्ने र शैक्षिक गुणस्तर सुदृढीकरण गर्ने
जुम्ला । जुम्ला बहुमुखी क्याम्पसमा संकाय थप तथा शैक्षिक गुणस्तर सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना जुम्ला बहुमुखी क्याम्पसले गरेको हो भने जिल्ला समन्वय समितिको कार्यालय जुम्लाले समन्वय गरेको हाे।
कार्यक्रममा क्याम्पसका सहायक प्राध्यापक पदमबहादुर शाहीले स्वागत मन्तव्य राख्दै त्रिभुवन बिश्व बिद्यालयकाे आँङ्गिक जुम्ला बहुमुखी क्याम्पस जिल्लाको एक मात्र क्याम्पस भएकाले यसको शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
त्यस्तै क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले कार्यक्रमको औचित्य प्रस्तुत गर्दै आफू सेवा भावनाबाट प्रेरित भएर काम गरिरहेको बताए। उनले क्याम्पसको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र आगामी दिनमा थप गर्नुपर्ने संकाय, श्रम तथा रोजगारमुखी व्यवहारिक शिक्षा, स्थानीय स्तरमै गुणस्तरीय र पहुँचयोग्य उच्च शिक्षा सुनिश्चित गर्ने लक्ष्यबारे जानकारी गराए। योग्य शिक्षक, आधुनिक शिक्षण विधि र भौतिक पूर्वाधार विकासमार्फत शैक्षिक गुणस्तर सुधार गर्दै उच्च शिक्षाका लागि बाहिर पलायन रोक्नु आवश्यक रहेको उनले बताए।
खत्रीका अनुसार हाल क्याम्पसमा १६ जना जनशक्ति कार्यरत छन्। जुम्लालाई शैक्षिक हब बनाउने साझा संकल्पका साथ अगाडि बढिएको उल्लेख गर्दै प्रस्तावित योजनाका लागि अनुमानित बजेट ९४ लाख ५० हजार रुपैयाँ लाग्ने जानकारी दिए।
कार्यक्रममा प्रयाग आचार्यले टुरिजम तथा हेरिटेज विषयमा संकाय थप गर्नुपर्ने धारणा राखे। किसान रामसिंह रावलले क्याम्पस स्थापना भएको ५० वर्षभन्दा बढी समय बितिसक्दा पनि पुरानै संकायमा सीमित हुनु दुःखद भएको भन्दै समय सान्दर्भिक कम्तीमा पाँचवटा नयाँ संकाय थप्न जरुरी रहेको बताए।
खड्क सेजुवालले २०४५ सालमा आफू पढ्ने पहिलाे विद्यार्थी रहेको स्मरण गर्दै अहिलेको कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताए। उनले जुम्लाको हावापानी र भौगोलिक अवस्था अनुसार बीएससीजस्ता विषय यहाँ नै पढ्न पाउने व्यवस्था हुनुपर्नेमा जोड दिए।
त्यस्तै कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले क्याम्पस विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दबहादुर चौलागाईंले शिक्षामा लगानी गर्न कुनै समस्या नरहेको बताउँदै साना कक्षादेखि नै शिक्षामा लगानी गर्दै आएकाे धारणा राखे ।
हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले शिक्षा सुधारका लागि सबै पालिका तयार रहेको बताउँदै उद्योग, व्यापार, पर्यटन र अर्थतन्त्र मजबुत बनाउनुपर्ने बताए।उनले संकाय थपकाे लागी आबश्यक बजेट ब्यवस्थापन गर्ने बताए ।
त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्यले जुम्लालाई टुरिजम हबका रूपमा विकास गर्नुपर्ने र स्थानीय उत्पादनको बजारीकरण तथा उद्यमशीलतामा ध्यान दिन आवश्यक रहेको बताइन्।
त्यस्तै प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कार्यक्रमको शुभकामना दिँदै भौतिक पूर्वाधार, जनशक्ति र आर्थिक अवस्थालाई समग्र रूपमा हेर्नुपर्ने बताए। उनले सरकारी विद्यालयमा भर्ना भएर बाहिर पढ्न जाने प्रवृत्ति सुधार गर्नुपर्ने र पछिल्लो समय बढ्दै गएको विद्यार्थी शिक्षक राजनीतिकरण निरुत्साहित गर्नुपर्नेमा जोड दिए।
त्यस्तै चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले नगरपालिकाले छात्रवृत्तिमार्फत डाक्टर पढाउँदै आएको उल्लेख गर्दै शिक्षामा लगानी कमी नहुने बताए।
जिल्ला समन्वय समितिका प्रमुख नन्द आचार्यले संकाय थप तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रम महत्वपूर्ण रहेको बताए। उनले कार्यक्रममा सहभागी शिक्षक, बुद्धिजीवी र सरोकारवालालाई धन्यवाद दिँदै स्थानीय तहहरूले गरेको आर्थिक सहयोग प्रतिबद्धताप्रति आभार व्यक्त गरे। थपिने संकाय बि.ए.ड तर्फका संकाय भित्र कानुन,मानविकी संकाय भित्र आमसंञ्चार तथा पत्रकारिता,पर्यटन ,समाजिक कार्य मनाेबिज्ञान परामर्श ब्यवस्थापन संकायमा बिज्ञान तथा सूचना प्रविधि रहेका छन
संकाय थप तथा शैक्षिक गुणस्तरीय सुधारका लागि जिल्ला समन्वय समितिको संयोजकत्वमा स्थानीय तहका जनप्रतिनिधि सम्मिलित पहल समिति गठन गरिएको जानकारी दिइएको छ।








