प्रदेश २ मा महिला हिंसाका घटना बढी
प्रदेश २ मा महिला हिंसाका घटना बढी रहेका छन ,। महिला हिंसा र बलात्कारजस्ता जघन्य अपराधको अवस्था भयावह देखिएको हो । प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांक अनुसार चैत्र यता लकडाउनका समयमा मात्रै महिला हिंसा सम्बन्धी करीब तीन सय घटनाहरु बाहिर आएका छन् । जुन अन्य प्रदेशको तुलनामा निकै बढी हो । प्रहरीका अनुसार यस अवधीमा सबैभन्दा बढी जबरजस्तीकरणीका एक सय ९७ र जबरजस्ती करणी उद्योग ४८ घटनाहरु बाहिर आएका छन् । त्यसैगरी लकडाउनको अवधिमा बोक्सी आरोपका १३ र बालबिवाहका चार वटा घटना भएको तथ्यांकले देखाएको छ ।
यी बाहेकका अधिकांश घटना प्रहरीमा नपुग्दै विभिन्न प्रलोभन, डर र सामाजिक प्रतिष्ठाका नाममा गुपचुप भएका हुनसक्ने प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) धिरजप्रताप सिंहले बताए । उनका अनुसार प्रहरीसम्म पुगेका घटनामध्ये ९५ प्रतिशतभन्दा बढीमा पुरुष पीडक रहेको छ । घरेलु हिंसाका घटनामा स्थानीय कचहरी बसेर मिलापत्र गर्ने प्रवृत्तिले पनि ठाउँठाउँमा निरन्तरता पाउँदा पीडितले न्याय नपाएको उनको भनाइ छ ।








