“आमा अस्पतालको शैय्यामा,११ वर्षको बालकले भने– अब मलाई भात दिने मान्छे छैन” म स्कुल कसरी जानु
जुम्ला : चन्दननाथ नगरपालिका–८,तलिमकी ४० वर्षीया दर्शना दमाई करिब एक वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल बेडमै जीवन बिताइरहेकी छिन्। एक वर्षअघि घरको भर्याङबाट लड्दा उनको मेरुदण्ड भाँचियो, र त्यसपछि उनी उठ्न नसक्ने भइन्।
दर्शना दमाईका श्रीमानको पनी अहिले मृत्यु भइसकेको छ। अब उनीसँग बाँकी छन ११ वर्षका छोरा विकास दमाई,जसले अहिले आमाको सिरानीमा बसेर दिनचर्या बिताइ रहेका छन ।
विकास भन्छन्,“बाबा मर्नुभयो, आमाको मेरुदण्ड भाँचियो। मलाई भात खान दिने मान्छे छैन, म स्कुल कसरी जानु त्यसैले म यही अस्पतालमै बसेको छु।
आमा बिरामी नहुँदासम्म विकास जातिभिरस्थित विद्यालयमा कक्षा दुईमा अध्ययन थिए । तर आमा अस्पताल परेपछि उनको पढाइ रोकिएको छ। “अब खाना कसरी खाने भन्ने चिन्ता छ।
दर्शना दमाईको शरीरको तल्लो भाग चल्दैन, केवल माथिल्लो भाग चल्छ। उनी आफैं खाना खान सक्दिनन्, दिशा–पिसाबसमेत शरीरमै हुने गरेको छ। माईती घरका भाइले अस्पतालमा कुर्ने काम गर्दै आएका छन ।
आँसु झार्दै दर्शना भन्छिन्,“म त जिउँदो लास सरह भएकी छु। शरीर चल्दैन, अब उठ्न सक्दिन। ढिलोचाँडो म मर्छु नै। तर मेरो ११ वर्षको छोरा विकासको भविष्य सुरक्षित होस्। ऊ पढोस्, दुःख नपाओस यही मेरो अन्तिम इच्छा हो। तपाइहरुले छोरोको लागी केही गदिनुहोस ।
दर्शना बताउँछिन् कि छोराको जन्मदर्ता हराइसकेको छ, तर उमेर अहिले ११ वष भयो होला जस्तो लाग्छ । उनीहरू अत्यन्त विपन्न परिवार हुन। दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने। अहिले त्यो पनि सम्भव छैन। सामाजिक रूपमा हेर्दा, विकास जस्ता बालकका लागि अब राज्यकै जिम्मेवारीमा पालन–पोषण र शिक्षाको व्यवस्था गर्नुपर्ने बाध्यता आएको छ। समाजमा सबै बालबालिकाहरू बिहान स्कुल जान्छन्, त्यस समाजकै बीचमा विकास भने अस्पतालको वाडमा आमाको सिरानीमा बस्न बाध्य छन्।उनको भविष्यको प्रश्नमा अब राज्य, समाज र मानवीय संवेदनशीलता सबैको परीक्षा रहेको छ।
दर्शना दमाई र उनका ११ वर्षका छोरा विकास जस्ता नागरिकहरू हाम्रो राज्यका सबैभन्दा असुरक्षित वर्ग हुन्। उनीहरूका लागि शिक्षा, पालन–पोषण र पुनःस्थापनाको जिम्मेवारी केवल परिवारको नभई राज्य र समाजकै हो। तर बिडम्बना यस्ता कुरामा राज्य सत्रै उदासिन नै देखिन्छ ।








