तीन दिनसम्म ओलीको मोबाइल सीज गरिएको खुलासा
काठमाडौं । २४ भदौको जेनजी आन्दोलनबीच प्रधानमन्त्री पदबाट राजीनामा दिएर सैनिक सुरक्षामा बसेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मोबाइल तीन दिनसम्म सिज गरिएको खुलासा गरेका छन् । आइतबार कोटेश्वरको एक पार्टी प्यालेसमा सम्पादकहरूसँगको अन्तर्क्रियामा ओलीले भने, ‘प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि म सैनिकको सुरक्षामा गएको हो । २७ गतेसम्म मलाई मोबाइल दिइएको थिएन ।’
ओलीले जेनजी आन्दोलनपछि आफ्नो व्यक्तिगत सुरक्षाको अवस्था र मोबाइल सिज गरिएको तथ्य पहिलोपल्ट सार्वजनिक गरेका हुन् ।
‘सुशीला कार्कीको सरकार असली जेनजीको माग थिएन’
ओलीले आफूले जेनजीका असली अगुवासित छलफल गरेको बताउँदै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन माग नगरेको दाबी पनि गरे । जेनजी आन्दोलनमा घूसपैठ भएको र त्यसपछिका घटनाक्रमहरूमा असली जेनजीहरूलाई धोका भएको ओलीको दाबी छ ।
‘२४ गतेको विध्वंश असली जेनजीले गरेका थिएनन्’, उनले भने, ‘मैले असली जेनजीका अगुवासित कुरा गरेको छु । उनीहरूले मसँग भनेका छन्– सिंहदरबार जलाउने, नेताका घर खोजीखोजी जलाउने हाम्रो योजना थिएन । ७४ वर्षकी हजुरआमालाई प्रधानमन्त्री बनाउने पनि हाम्रो माग थिएन ।’
उनले जेनजी आन्दोलनमा षडयन्त्र भएको दोहोर्याए । ‘अगुल्टो लुकाउन सकिएला तर धुवाँ लुकाउन सकिँदैन’, ओलीले भने, ‘सधैं यस्तो हुँदैन । एकदिन यसमा कारबाही हुन्छ ।’
आफूले भ्रष्टाचार गरेको पुष्टि गरेर देखाउन ओलीले चुनौती पनि दिए ।
उनले आफ्नो खातामा २०, २५ लाख रुपैयाँजति मात्र रहेको बताए । ओलीले आफू सम्पत्ति छानबिनका लागि तयार रहेको स्पष्ट पारे । उनले भने, ‘मेरो सम्पत्ति छानबिन गर्न आयोग नै चाहिँदैन । एउटा घर थियो, त्यो जलिसक्यो । त्यसबाहेक मसँग अरु केही छैन । बैंकमा २०, २५ लाखजति होला । त्यो पैसा पनि मेरो सांसद, मन्त्री हुँदाको तलब हो, हिसाब होस्, म तयार छु ।’
उनले आफू २००७ सालयताकै सम्पत्ति छानबिन गर्ने भए पनि तयार रहेको ओलीले बताए ।








