यो सरकारबाट देउवा, ओली, प्रचण्डलाई थुन्ने तयारी हुँदै छ : ओली
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले कांग्रेस सभापति शेरबहादुर देउवा, आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थुन्ने तयारी भएको बताएका छन् । उनले भनेका छन्,
‘देउवा, ओली, प्रचण्डलाई थुन्ने तयारी हुँदै छ । सबै दलका नेतालाई थुनेपछि चुनाव चाहिँ कसको बीचमा गर्ने ?’
उनले जेन–जीका बीचमा ड्रमा गरेकै भरमा प्रधानमन्त्री छानेजस्तो चुनाव सम्भव नभएको तर्क गरे । उनले आफू डराएर घुँडा नटेक्ने र सत्य बोल्न नडराउने बताए ।
असंवैधानिक भएको भन्दै चुनाव नगराउने बाटोमा रहेको बताएका छन् । उनले सरकार उल्टो बाटोमा हिँडेको समेत बताए ।
आफूले जेनजीका असली अगुवासित छलफल गरेको बताउँदै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन माग नगरेको दाबी गरेका छन् । कोटेश्वरको एक पार्टी प्यालेसमा विभिन्न मिडियाका सम्पादकहरूसितको संवादमा ओलीले जेनजी आन्दोलनमा घूसपैठ भएको र त्यसपछिका घटनाक्रमहरूमा असली जेनजीहरूलाई धोका भएको दाबी गरेका हुन् ।
‘२४ गतेको विध्वंश असली जेनजीले गरेका थिएनन्’, उनले भने, ‘मैले असली जेनजीका अगुवासित कुरा गरेको छु । उनीहरूले मसँग भनेका छन्– सिंहदरबार जलाउने, नेताका घर खोजीखोजी जलाउने हाम्रो योजना थिएन । ७४ वर्षकी हजुरआमालाई प्रधानमन्त्री बनाउने पनि हाम्रो माग थिएन ।’
उनले जेनजी आन्दोलनमा षडयन्त्र भएको दोहोर्याए । ‘अगुल्टो लुकाउन सकिएला तर धुवाँ लुकाउन सकिँदैन’, ओलीले भने, ‘सधैं यस्तो हुँदैन । एकदिन यसमा कारबाही हुन्छ ।’
आफूले भ्रष्टाचार गरेको पुष्टि गरेर देखाउन ओलीले चुनौती पनि दिए ।
उनले आफ्नो खातामा २०, २५ लाख रुपैयाँजति मात्र रहेको बताए । ओलीले आफू सम्पत्ति छानबिनका लागि तयार रहेको स्पष्ट पारे । उनले भने, ‘मेरो सम्पत्ति छानबिन गर्न आयोग नै चाहिँदैन । एउटा घर थियो, त्यो जलिसक्यो । त्यसबाहेक मसँग अरु केही छैन । बैंकमा २०, २५ लाखजति होला । त्यो पैसा पनि मेरो सांसद, मन्त्री हुँदाको तलब हो, हिसाब होस्, म तयार छु ।’
उनले संविधानले जान्दै नजानेको बाटोबाट प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाशीश सुशीला कार्कीले संविधानको धारा १ सय ३२ को १ र २ पढेकै होला भनेर व्यङ्ग्यसमेत गरे ।
उनले सुरक्षाकर्मीका हतियार लुटिएका र फरार रहेका केदीकै कारण असुरक्षा बढाएको समेत बताए । यस्तो बेला शान्तिपूर्ण वातावरण बनाउन सरकार तयार नभएको समेत बताए ।








