भदौ २३ गते प्रधानमन्त्रीले गोली चलाउन आदेश दिएको भन्नु आपराधिक प्रचार हो : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी प्रदर्शनका क्रममा भदौ २३ गते गोली हानि भएको हत्याकाण्डको बारेमा आफूलाई घटना भइसकेपछि मात्रै थाहा भएको बताएका छन्। उनले आफूले त घटना घटिसकेपछि मात्र जानकारी पाएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा बताएका हुन् ।
उनले गोली चलाउने आदेश कानुनत अधिकार प्राप्त संस्था वा अधिकारीले मात्रै दिन सक्ने र प्रधानमन्त्री त्यस्तो अधिकारी होइन भन्ने स्पष्ट रहेको पनि बताएका छन्।
‘भदौ २३ गतेको गोलीकाण्डको बारेमा प्रधानमन्त्रीलाई घटना घटेपछि थाहा भएको हो। दंगा नियन्त्रणका अन्य वैकल्पिक उपाय अवलम्बन नै नगरी किन त्यति ठूलो मात्रामा गोली चल्यो ? एकसाथ नि करिब दुई दर्जन युवाहरूको हत्या भयो ? किन सयौंको संख्यामा घाइते बनाइयो ? २४ गतेको विध्वंशको तयारीका लागि के का लागि ? २३ र २४ गतेका घटनाहरूको अन्तरसम्बन्धको विश्लेषण हुनैपर्छ,’ उनले दसौं केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ।
भदौ २३ गतेको घटनापछि मन्त्रिपरिषदको बैठक बसेको र बैठकले उक्त घटनाका सम्बन्धमा दुःख व्यक्त गरेको पनि उनले बताए।
‘घाइतेका निःशुल्क उपचारका निम्ति निर्णय गरेको छ। मृतक र घाइतेका परिवारलाई राहत र क्षतिपूर्तिका लागि निर्णय गरेको छ। घटनाको सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउने र त्यस आयोगको सिफारिसमा दोषी उपर कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको छ। यथार्थ यस्तो हुँदाहुँदै पनि तत्कालीन प्रधानमन्त्री विरूद्ध नियोजित रूपमा चलाइएका निराधार र आपराधिक प्रचारलाई एमाले कडा प्रतिवाद र खारेज गर्छ,’ ओलीले भनेका छन्।
जेनजीको प्रर्दशनका क्रममाा भएको हत्या पछि २४ गते आगजनी भएको थियो । ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर हेलीकप्टरमा भाग्नु परेको थियो ।








