प्रचण्ड विरुद्धको झूठा प्रचारबाजी रोक्न माग गर्दै वाईसीएल नेपाल जुम्लाकाे ज्ञापनपत्र
जुम्ला : वाईसीएल नेपाल जुम्ला कार्य समितिले एक ज्ञापनपत्रमार्फत देशमा पछिल्लो समय भइरहेको ‘झूठा र कपोकल्पित प्रचार’ विरुद्ध विरोध जनाउँदै कानूनी छानबिन र कारबाहीको माग गरेको छ।
जुम्लाबाट जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी केदार नाथ शरमा मार्फत सिंहदरबार गृह मन्त्रालय काठमाडौंमा रहेका माननीय मन्त्रीलाई सम्बाेधन गरिएकाे ज्ञापनपत्रमा भनिएकाेछ , हालैको जेन्जी आन्दोलनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गरिएको ‘घर जलाइदाअघि दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लुकाइयो’ भन्ने आरोपलाई निराधार, तथ्यहीन र राजनीतिक प्रतिशोधपूर्ण भन्दै त्यसप्रति आपत्ति जनाइएको छ।
ज्ञापनपत्रमा पूर्व एआइजी देवेंद्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेद्वारा सामाजिक सञ्जाल तथा मिडिया प्रयोग गरेर गरिएको प्रचारप्रति आपत्ति जनाइएको छ। वाईसीएल नेपालले आरोप प्रमाणित नभएको अवस्थामा यस्ता प्रचारलाई “चरित्रहत्या” र “साइबर अपराध” को संज्ञा दिँदै सम्बन्धित निकायलाई कानूनी कारबाहीको माग गरेको छ।
वाईसीएल नेपालका जुम्ला जिल्ला अध्यक्ष खगेन्द्र कार्की तथा अखिल (क्रान्तिकारी) का प्रतिनिधि धर्मराज रावलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा निम्न तीन मागहरू स्पष्ट रूपमा राखिएका छन्:
१. झूठा र तथ्यहीन प्रचार गर्नेहरूमाथि निष्पक्ष छानबिनसहित तुरुन्त कानूनी कारबाही गरियोस्।
२. संगठन र नेतृत्वमाथि राजनीतिक प्रतिशोधका आधारमा धम्की, त्रास र हेरेस गर्ने काम तुरुन्त बन्द गरियोस्।
३. यदि यस्ता गतिविधिहरू तुरुन्त रोकिएनन् भने युवा तथा विद्यार्थी संगठनहरू संयुक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछन्।
ज्ञापनपत्रमा सत्यलाई तोडमोड गरी भ्रम फैलाउने प्रयासलाई सह्य नहुने चेतावनीसमेत दिइएको छ।
वाईसीएल नेपालका अनुसार, नेताविरुद्ध गरिएको गलत प्रचारप्रसारलाई लिएर मिति २०८२ असोज २७ गते नेपाल प्रहरीको सम्बन्धित विभागमा उजुरी समेत दर्ता गरिएको छ। प्रहरी प्रशासनले कारबाहीको प्रक्रिया अगाडि नबढाएको भन्दै ज्ञापनपत्रमार्फत असन्तुष्टि व्यक्त गरिएको छ।









