जिल्लाको शान्ति–सुरक्षा र सुशासन कायम राख्ने पहिलो कर्तव्य हुन्छ: प्र जिअ खत्री
मुगु : मुगुमा भखर्रै कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खडानन्द खत्रीले जिल्लामा शान्ति–सुरक्षा र सुशासन कायम राख्नु आफ्नो पहिलो कर्तव्य रहेको बताएका छन्।
बिहीबार जिल्ला प्रशासन कार्यालयमा सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा प्रजिअ खत्रीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लाका चारै स्थानीय तहमा रहेका व्यापारी केन्द्र, स्वास्थ्य संस्था लगायतका क्षेत्रको नियमित अनुगमन गरी अव्यवस्था मच्चाउनेलाई कानुनी दायरामा ल्याउन आग्रह गरे। साथै, सरकारी निकायबाट हुने ढिलासुस्ती अन्त्य गरी सेवाग्राहीलाई छरितो र झन्झटमुक्त सेवा दिन अन्य कार्यालयलाई निर्देशन गर्न पनि माग गरिएको नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष अच्युत राज भण्डारीले जानकारी दिए।
सो अवसरमा प्रजिअ खत्रीले सञ्चारमाध्यमलाई चौथो अंगको रूपमा लिइने भएकाले सञ्चारकर्मीले कसैको दबाब वा करकापमा नपरी सत्यतथ्यमा आधारित समाचार संकलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
उनले प्रमुख जिल्ला अधिकारीकै हैसियतले सञ्चारकर्मीले माग गर्ने गोप्य बाहेकका सबै सूचना र जानकारी समयमै उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय तथा अन्य सम्बन्धित कार्यालयहरूलाई कुनै कसर बाँकी नराख्ने आश्वासन पनि दिए।









