मुगुमा यार्सागुम्बा व्यापार ठप्प, संकलनकर्ता र व्यापारी संकटमा
मुगु — मुगुको पूर्वी भेगका वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको व्यापार पछिल्ला वर्षमा ठप्प हुँदै गएको छ। अन्तर्राष्ट्रिय बजारदेखि स्थानीय स्तरसम्म माग घट्दा करिब दुई क्विन्टलभन्दा बढी यार्सागुम्बा मुगुमै थन्किएको छ। यसले संकलनकर्ता र व्यापारी दुवैलाई आर्थिक मर्कामा पारेको छ।
यार्सागुम्बा दुर्लभ र औषधीय गुणले भरिपूर्ण जडीबुटी हो, जुन हिमाली तथा उच्च पहाडी क्षेत्रमा मात्र पाइन्छ। आपूर्तिका हिसाबले चीनपछि नेपाल विश्वमा दोस्रो स्थानमा रहेको भए पनि व्यापारिक गिरावटले यस क्षेत्रको ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ।
गत वर्ष प्रति पिस ५ सयदेखि १ हजार रुपैयाँ र प्रति किलो १७–१८ लाख रुपैयाँसम्मको मूल्यमा व्यापार हुने यार्सागुम्बा यस वर्ष बजारमा मूल्य नपाउँदा विक्री लगभग बन्द भएको छ। मुगुम कामारोङ्ख गाउँपालिकाका स्थानीय बासिन्दाको मुख्य आम्दानीको स्रोत नै यार्सागुम्बा भए पनि ज्यान जोखिममा राखेर संकलन गरेको सामग्री बिक्री हुन नसक्दा परिवार पाल्नसमेत कठिनाइ भएको छ।
जनप्रतिनिधिहरूका अनुसार मुगुमा वार्षिक रूपमा दुई क्विन्टलभन्दा बढी यार्सागुम्बा संकलन हुने गरे पनि यस वर्ष चीनलगायत अन्य देश र नेपालकै बजारमा माग नहुँदा खरिद–बिक्री हुन सकेको छैन।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७९.२०७ किलो यार्सागुम्बा निर्यात भई प्रति किलो ३१ हजारको दरले २४ लाख ५५ हजार ४१७ रुपैयाँ राजस्व संकलन भएको थियो। तर, पछिल्लो आर्थिक वर्ष २०८१/०८२ मा निर्यात घटेर २६.२ किलो मात्र हुँदा राजस्व ८ लाख १२ हजार २०० रुपैयाँमा सीमित रह्यो।
डिभिजन वन कार्यालय मुगुले यार्सागुम्बा संरक्षण र उत्पादन वृद्धिका लागि जनचेतनामूलक कार्यक्रम, अनुसन्धान, कार्ययोजना कार्यान्वयन, जलवायु परिवर्तन रोकथाम लगायतका प्रयास अघि बढाउने जनाएको छ।
व्यापार घट्नुका प्रमुख कारणहरू
अन्तर्राष्ट्रिय व्यापारमा गिरावट
वन क्षेत्रबाट अवैध चोरी–निकासी
परिपक्व नहुँदै संकलन
स्थानीयमा जनचेतनाको कमी
वन क्षेत्रमा आगलागी
जलवायु परिवर्तनका कारण उत्पादनमा कमी
स्थानीयवासीको भनाइमा, यदि मूल्य र बजार व्यवस्थापन नभए यार्सागुम्बा संकलन गर्ने परम्परै संकटमा पर्नेछ।








