मुगुमा बाल विवाह कायमै, २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढ्दो

मुगु — नेपाल सरकारको कानुन अनुसार २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्न पाइने प्रावधान रहे पनि मुगुमा भने २० वर्ष नपुग्दै विवाह गरेर आमा बन्ने किशोरीको संख्या वर्षैपिच्छे बढ्दो छ।

जिल्ला अस्पताल मुगुका तथ्यांकअनुसार आर्थिक वर्ष ०८१/०८२ मा सुरक्षित प्रसूति गराएकामध्ये ४५ प्रतिशत किशोरी २० वर्ष नपुगेका थिए। उक्त अवधिमा २ सय २९ जना महिलाले सुरक्षित सुत्केरी सेवा लिएका थिए, जसमा ठूलो हिस्सा कम उमेरमै आमा बनेका थिए।

त्यस्तै, गर्भपतन गराउने किशोरीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षमा मात्र ६४ जनाले जिल्ला अस्पतालमा आएर सुरक्षित गर्भपतन गराएका थिए। यस्तै, जिल्लामा रहेका मेरिस्टोप सेन्टरहरूबाट पनि गर्भपतन सेवा लिनेको संख्या उच्च रहेको अस्पतालले जनाएको छ।

स्वास्थ्यकर्मीका अनुसार बालविवाह र किशोरावस्थामै गर्भधारण हुनुका मुख्य कारणमा अशिक्षा, गरिबी, जनचेतनाको कमी, सामाजिक प्रचलन, र सामाजिक सञ्जालको दुरुपयोग प्रमुख छन्। जिल्ला अस्पताल मुगुकी नर्सिङ अधिकृत यमुना केसीका अनुसार पछिल्ला वर्षमा स्वास्थ्य संस्थामा उपचार लिने आमा वा किशोरीमध्ये सबैभन्दा धेरै २० वर्षमुनिका छन्।

सोरु गाउँपालिका–५ की झुपा बिष्ट भन्छिन्, “किशोरी अवस्थामा विवाह गरेर गर्भवती हुँदा स्वास्थ्य जोखिम बढ्छ। बालविवाह रोकथामको प्रयासभन्दा यसको दर बढ्दो देखिएकाले तत्काल प्रभावकारी कदम चाल्नुपर्छ।”

मुगुका चारै स्थानीय तहमा महिला तथा बालबालिका शाखा रहेका छन्। साथै, जिल्लामा रहेका १० वटा गैरसरकारी संस्थाका छाता संगठनहरूले बाल विवाहविरुद्ध साझा अभियान सञ्चालन गरिरहेका छन्। तर, सरोकारवाला निकायहरूले अझैसम्म यसलाई रोक्न ठोस कानुनी तथा व्यावहारिक कदम चाल्न सकेका छैनन्।

सम्बन्धित समाचार