माओवादी केन्द्रद्वारा जुम्लाका सबै स्थानीय तहमा सुशासन सहजीकरण सप्ताह सम्पन्न

जुम्ला — नेकपा (माओवादी केन्द्र) ले जुम्ला जिल्लाका आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरेको सुशासन सहजीकरण विशेष सप्ताह सफलतापूर्वक सम्पन्न गरेको छ।जिल्ला संयोजक नवराज न्यौपानेका अनुसार, यस विशेष सप्ताहको उद्देश्य जनगुनासा तथा उजुरीहरू संकलन गरी समाधानका लागि पहल गर्नु, तथा स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्नु रहेको छ। कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै जनचासोका विषयहरू उठाइएको थियो।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सामाजिक सुरक्षाभत्ता, नागरिक सेवा प्रवाह लगायतका विषयमा आएका गुनासाहरूलाई प्राथमिकताका साथ अभिलेख गरी सम्बन्धित निकायमार्फत समाधान गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

तिला गाउँसमिति इञ्चार्ज जगतबहादुर शाहीका अनुसार, यस कार्यक्रमले जनगुनासा सुनुवाइको माध्यमबाट पार्टी जनसरोकारका विषयमा गम्भीर रहेको सन्देश जनतामा पु¥याएको छ।
चन्दननाथ नगरपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर महतले स्थानीय नेताहरूले जनतासँग प्रत्यक्ष संवाद गर्दै गुनासा र सुझावलाई सुशासन स्थापनाको आधार बनाएको बताए। उनले पार्टीले शासन प्रणालीमा जनसहभागिता र पारदर्शिता सुनिश्चित गर्दै समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिने स्पष्ट पारे।
गुठीचौर गाउँसमितिले पनि सप्ताहअन्तर्गत जनगुनासा तथा उजुरीहरू संकलन गरी समाधानका प्रयासहरू सार्वजनिकरूपमा प्रस्तुत गरेको जानकारी दिएको छ। कार्यक्रममा पार्टी नेताहरू, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

माओवादी केन्द्र जुम्लाले यस सुशासन हेल्प डेस्क सप्ताहलाई यही आसार १९ देखि २५ गतेसम्म जिल्लाभर मनाएको हो। कार्यक्रम अन्तर्गत गाउँपालिकामा हेल्प डेस्क स्थापना गरी सेवाग्राहीको गुनासो सुन्ने, सेवा प्रवाहमा देखिएका समस्या पहिचान गर्ने र तत्काल समाधानमा पहल गर्ने कार्य गरिएको हो।
यस अभियानमा चन्दननाथ नगरपालिका, सिंजा, तातोपानी, तिला, गुठीचौर, हिमा, कनकासुन्दरी र पातारासी गाउँपालिकाहरू सहभागी रहेका थिए। प्रत्येक पालिकामा पार्टीका इञ्चार्ज, अध्यक्ष, केन्द्र सदस्य तथा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

सिंजा गाउँपालिकामा आयोजित समापन कार्यक्रममा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य चन्द्रविर तिरुवा ’रविकिरण’ले सेवाग्राहीका काम ढिलासुस्तीमा प्रश्न उठाइएको र सहजीकरण गरिएको जानकारी दिए। तातोपानी गाउँपालिका अध्यक्ष जक्ति न्यौपाने, पातारासीका इञ्चार्ज जन महतारा र अध्यक्ष भक्तबहादुर बुढाले पनि आफ्ना पालिकामा कार्यक्रमबाट प्राप्त अनुभव साझा गरे।
पार्टी इञ्चार्ज नरेश भण्डारीले यो कार्यक्रमलाई नमूना कार्यक्रमको रूपमा उल्लेख गर्दै, पार्टी निर्णयको पालना गर्दै कार्यमा सहभागी भएका सबै नेता तथा कार्यकर्तालाई धन्यवाद दिए।









