सरकार चलाउन समस्या छैन, विकल्प खोजिए ठीक ठाउँमा पुग्दैनौँ : गृहमन्त्री लेखक
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धनको विकल्प खोज्न नहुने बताएका छन् । उनले सरकारमा देखिएका कमजोरीलाई सुधार्नुपर्ने बताए । ‘दुईवटा पार्टीका बीचमा केही समस्या देखा पर्यो भने सल्लाह गरेर अघि बढ्ने गरेका छौँ । त्यसैले सरकार सञ्चालन गर्ने क्रममा कुनै समस्या छैन,’ उनले बैठकमा भने ।
दुवै पार्टीलाई सहज होस् भनेर उच्चस्तरीय संयन्त्र वा कार्यदलमार्फत काम गरिरहेको र त्यसले पनि सहजता ल्याएको उनले बताए । कांग्रेसको उपस्थिति प्रभावकारी भएन भन्ने गुनासो कांग्रेसको कोणबाट हेर्दा देखिएको उनले बताए । दुईदलीय गठबन्धनलाई ठीक ढंगले चलाउन प्रयास गरिरहेको उनले बताए । उनले अहिलेको गठबन्धनभन्दा अरु विकल्पमा सोच्न थालेमा ठीक ठाउँमा पुग्न नसकिने दाबी गरे ।
‘दुईदलीय सरकारलाई ठीक ढंगबाट चलाउन कोसिस गरिराखेका छौँ । कोसिस गरिरहँदा कमजोरी हुन्छन्,’ उनले बैठकमा भने, ‘गठबन्धनलाई व्यवस्थित गरेर कांग्रेसको हितमा गठबन्धनमा जान सक्ने स्थिति बनाएर अहिलेको सरकारलाई नै निरन्तरता दिन सक्नुपर्छ । अरु विकल्प सोच्न थाल्यौँ भने ठीक ठाउँमा पुग्न सक्दैनौँ । कमीकमजोरीलाई सुधार्दै लैजानुपर्छ ।’
गृह मन्त्रालयमार्फत नीतिगत कानुनी र संरचनात्मक सुधार प्राथमिकतामा रहेको उनले बताए ।








