नालाको फोहोरले चन्दननाथ–५ को प्रमुख बजार जलमग्न, स्थानीय आक्रोशित,सम्बन्धित निकाय मौन

जुम्ला — चन्दननाथ नगरपालिका–५ को प्रमुख बजार क्षेत्र नालाको फोहोरले भरिएर जलमग्न भएपछि स्थानीय आक्रोशित भएका छन्। शुक्रबार बिहानको अविरल वर्षाका कारण कार्कीवडास्थित कर्णाली पुस्तकालय अगाडिको नाला उल्टेर फोहोर बग्दा सडक र पसलहरू जलमग्न भएका हुन्।
स्थानीयका अनुसार सो नाला पहिल्यैदेखि फोहोरले भरिएको थियो। “हामीले पटक–पटक नगरपालिकालाई जानकारी गरायौं तर कुनै वास्ता भएन,“ एक स्थानीयले भने, “बिहान पानी परेपछि नालाको फोहोर उल्टेर कर्णाली पुस्तकालय अगाडिको क्षेत्रभरि फैलियो।


नजिकै रहेको नाइस मोबाइल पसलमा समेत फोहोर पस्दा पसल सञ्चालक सुस्मा शाही हैरान भएकी छिन्। “हेर्दाहेर्दै पसलमा फोहोर पस्यो, चार जना लगाएर सफा ग¥यौं,“ उनले भनिन्। “नगरपालिकालाई जानकारी गराउँदा पनि कुनै प्रतिक्रिया आएन।


त्यस्तै स्थानीय लंक बहादुर कार्कीका अनुसार भवनभित्र फोहोर पस्न थालेपछि उपमेयर रामदेवी खडकालाई खबर गरिए पनि नगरबाट तत्काल सहयोग प्राप्त भएन। पछि डोजर ल्याएर नालामा राखिएको सिलेट उठाइएको थियो। तर नालाको फोहोरको गन्धले गर्दा हिँडडुल गर्न समेत मुस्किल भएको छ।
यसले कालेखोलीतर्फ जानेसमेत बाटो बन्द भएको छ। चन्दननाथ–५ नगरपालिका क्षेत्रलाई सबैभन्दा व्यस्त र व्यावसायिक वडाको रूपमा चिनिन्छ। सडक, पसल र घर डुबानमा पर्दा जनजीवन प्रभावित बनेको छ। स्थानीयहरूले पत्रकारहरूप्रति पनि गुनासो जनाएका छन् “के हेरेका होलान?“


एक स्थानीयले भने, “नगर प्रहरीले केही वास्ता गरेन, कर्मचारी छन् तर संकटको बेलामा देखिँदैनन्। यस्तो नगरपालिका भएर पनि के काम?”स्थानीय अनुसार, त्यही ठाउमात्रै नभइ नगरभित्रका नालाहरूमा फोहोर थुप्रिँदा पानीको निकास बन्द भएको छ। नेपाली सेनाको गणबाट समेत फोहोर बगेर आउने गरेको उनीहरूको गुनासो छ। वर्षा सुरु हुनु अघि नै सरसफाइ गर्नु पर्नेमा नगरपालिकाले कुनै पहल नगरेको उनीहरूको आरोप छ।


यता चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले नाला निर्माणको लागि ठेक्का दिइएको जानकारी दिए। “बिहान पानी धेरै परेपछि फोहोर उल्टिएर भवनभित्र पस्यो, त्यसपछि तत्काल डोजर पठाएर सिलेट हटाइएको हो,“उनले भने।स्थानीयले समस्या समाधानका लागि सम्पूर्ण नाला सफा गर्न माग गरिरहे पनि नगरपालिकाले ढिलासुस्ती गरेको आरोप लगाएका छन्। मेयर कठायतले उल्टै ठेकेदार हेम बुढालाई सम्पर्क गर्न अनुरोध गरका थिए । मेयर कठायतले दिएको फाने सम्पर्क गर्दा उक्त फोन उठेको छैन ।


यसरी नगरको मुटु मानिएको चन्दननाथ–५ को मुख्य बजार क्षेत्रमा नाला फोहोरले दुर्गन्धित भएर जनजीवन अस्तव्यस्त हुँदा पनि नगरपालिकाको कुनै ध्यान नजानु अत्यन्तै दुर्भाग्यपूर्ण विषय हो। चहलपहलको केन्द्र, व्यापारिक गतिविधिको मुटु, र सेवाग्राहीहरूको आवागमनले भरिभराउ यो बजार क्षेत्र जलमग्न र फोहोरले ढाकिएको छ, तर सम्बन्धित निकायहरू चुपचाप छन्। नागरिक नाकमुख थुनेर हिँड्न बाध्य छन्,। तर जनप्रतिनिधिहरू अझै पनि निरीह छन्। यस्तो बेवास्ता र लापरवाहीले जनस्वास्थ्यमा मात्र नभई जनविश्वासमा समेत गम्भीर चोट पुगेको छ ।

सम्बन्धित समाचार