कैलालीमा असईको हत्या प्रकरणमा शंकास्पद लागेको भन्दै ११ जना पक्राउ ।

कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु छन् । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन । सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको जानकारी दिनुभयो । उहाँले मृतक विकको शव हेर्दा धारिलो हतियार प्रहार गरेर हत्या भएको हुनसक्ने देखिएको भन्दै विस्तृतमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने बताउनुभयो ।

विकसँगै हिजो साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिएका छैनन् । नदीमा खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ भने नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको छ । असई विकले अस्थायी प्रहरी बिट, जुगेडाको नेतृत्व गरिरहेका थिए ।

सम्बन्धित समाचार