वाईसीएललाई प्रचण्डको निर्देशन– राजावादीहरू जाँड खाएर उफ्रिँदै छन्, इँटको जवाफ पत्थरले दिनू
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनमा इँटको जवाफ पत्थरले दिने गरी तयारी गर्न निर्देशन दिएका छन् । सम्मेलनको उद्घाटन गर्दै उनले वाईसीएल आइलाग्नेमाथि जाइलाग्न सक्ने हुनुपर्ने बताए ।
प्रचण्डले भने, ‘जस्तालाई त्यस्तै गर्नुपर्छ । यदि आइलाग्नेसँग जाइलाग्न नसक्ने भए कसरी वाईसीएल हुन्छ ? शनिबार नुवाकोटमा भएको घटनालाई इंगित गर्दै प्रचण्डले पछिल्लो समय राजावादीले छाडा बनेर आफूहरूमाथि आक्रमण गर्न कोसिस गरेको बताए ।
उनले भने, ‘अहिले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको तपाईंहरूले र मैले देखिरहेका छौँ । म के भन्न चाहन्छु भने जाइलाग्नेचाहिँ होइन उनीहरूको सभामा, उनीहरूको आन्दोलनमा गएर जाइलाग्न भन्न मैले खोजिरहेको छैन, बुझ्नुहोला, तर उनीहरू छाडा भएका छन् । छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दै छन् । यदि उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुहोस् ।’
प्रचण्डले कोही आइलाग्छ भने जाइलाग्नुपर्छ र त्यसको वाईसीएलले प्रतिवाद गर्नुपर्ने बताए ।