गीतमा समेत बुलबुले तालको खुबै चर्चा हुने गरेको छ। ‘सुर्खेतमा बुलबुले ताल ,मै सानी हुनाले छुट्यो माया जाल’ लोक संकलक तथा वाद्यवादक प्रेमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेकर्ड भएको यहीँ गीतले सुर्खेतलाई नयाँ पहिचान दियो। सुर्खेत र बुलबुले तालको नाम सबै नेपालीको मनमनमा बस्यो। उतिबेला भेरी अञ्चललाई मध्यनजर गर्दै बनाइएको गीतले राम्रै बजार पायो।
अहिलेजस्तो यातायात र घुम्ने संस्कारको विकास भइसकेको थिएन। सुर्खेत र बुलबुले तालबारे त्यहीँ रेडियोमा बज्ने गीतले नै पहिचान दियो। बुलबुले तालकै नाममा त्यसयता २५ भन्दा बढी गीत सार्वजनिक भएका छन्। सबै गीतमा सुर्खेत र बुलबुले तालको वर्णन गरिएको छ।
गीत सुनेरै धेरैले बुलबुलेको अवलोकन गरेका छन्। वार्षिक लाखौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक बुलबुले पुग्छन्।
यही तालको किनारमा अर्को ताल बनाउनका लागि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पोखरीको मंगलबार शिलान्यास गरे। प्रवीण निर्माण सेवाले ठेक्का लिएको उक्त पोखरी निर्माणको लागत रु १ करोड १२ लाख ३६ हजार ८६३ रहेको छ। कर्णाली प्रदेशको भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले योजना कार्यान्वन गर्ने छ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री यामलाल कँडेलले तोकिएकै समयमा काम गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए। उनले बजेटको समस्या नभएको भन्दै तोकिएकै समयमा काम गर्न आग्रह गरे।
बुलबुले गुरुयोजना कार्यान्वयनअन्तर्गत दोस्रो पोखरी निर्माण हुन लागेको हो। अहिले बुलबुले क्षेत्र सबैको रोजाई बन्दै गएको छ। अहिले नयाँ बन्न लागेको ताल ४ हजार २ सय वर्गमिटरमा फैलिने विस्तृत योजना प्रतिबेदनमा उल्लेख रहेको छ। तालको रहेको पानीको स्रोतलाई जम्मा गरेर पोखरी बनाउने लक्ष्य रहेको छ। २०८२ असार १० गते भित्र काम सक्नुपर्ने सम्झौतामा रहेको भू तथा जलाधार कार्यालयका प्रमुख शिखर चपाईले बताए। २०२९ सालदेखि बुलबुले तालको संरक्षण हुन थालेको हो। तालको संरक्षणसँगै यसको आकर्षण र महत्व बढ्दै गएको छ।
बुलबुले अहिले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको छ। सुर्खेत आउने जो–कोही एक पटक बुलबुले नपुगेर फर्कंदैनन्। बुलबुलेको मुख्य आकर्षण जमिन मुनिबाट बुलबुल भएर आउने पानी संकलन गरेर बनाइएका धारा र पार्क हो। बुलबुलेको देखिने जलकुण्ड निर्माण गरिनु पूर्व सानो चिरोको बीचबाट पानी बुलबुल गर्दै बाहिर निस्केर बग्ने गर्दछ। विगतदेखि नै स्थानीयले लुगा धुने, स्नान गर्ने र खानेपानीको समेत प्रयोग गर्ने गर्थे।
२०२९ सालमा तत्कालीन राजा वीरेन्द्र शाह सुर्खेत आएपछि तालको संरक्षण र प्रचारप्रचार भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाई छ। तत्कालीन राजा वीरेन्द्रकै इच्छा अनुसार वीरेन्द्रनगर बजारको परिकल्पना गरियो। यसको गुरूयोजना निर्माण गरियो। त्यहीँ योजनाभित्र बुलबुले पनि समेटियो। राजाकै चाहनाअनुसार यसको नाम वीरेन्द्रनगर राखिएको शाहको भनाइ छ। जुन अहिले कर्णाली प्रदेशको प्रदेश राजधानी पनि हो।